नौविसे-नागढुंगा सडक विस्तार अन्तिम चरणमा: ८५% काम सम्पन्न, ३५ दिनभित्र मुख्य संरचना सकिने

धादिङ । पृथ्वी राजमार्गको लाइफलाइन मानिने नौविसे-नागढुंगा सडक खण्ड विस्तारको कार्य अन्तिम चरणमा पुगेको छ । आयोजनाका अनुसार हालसम्म कुल भौतिक प्रगति ८५ प्रतिशत सम्पन्न भएको छ ।

आयोजना प्रमुख केशवप्रसाद ओझाका अनुसार पहिलो प्याकेज अन्तर्गतको १२.५ किलोमिटर सडक र दुईवटा पुल निर्माणको अधिकांश काम सकिएको छ । अबको ३५ दिनभित्र तेस्रो तह (अन्तिम तह) को कालोपत्रे र खानीखोलामा आकाशे पुल निर्माण गरिसक्ने लक्ष्य राखिएको छ ।

आयोजनाका मुख्य चुनौती र आगामी योजना:-

सडक सुरक्षा: कालोपत्रेको अन्तिम काम सकिए लगत्तै सडक सुरक्षाका मापदण्डअनुसार रङ्गरोगन र संकेत चिन्हहरू राख्ने काम सुरु हुनेछ ।

स्थानीय अवरोध: खानीखोलामा आकाशे पुल निर्माणका लागि टहरा विवादका कारण केही ढिलाइ भएको भए पनि हाल स्थानीयलाई स्थानान्तरण गरिसकिएकाले कामले गति लिने विश्वास गरिएको छ ।

निर्वाचन र चाडपर्व: आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन र फागु पूर्णिमा (होली) का कारण केही दिन श्रमिकको अभाव भई निर्माण कार्य प्रभावित हुन सक्ने सगुन कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक सहदेव खड्काले बताए ।

समयावधि: २०७९ सालदेखि सुरु भएको यो आयोजना ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यसअघि विद्युत्का पोल सार्ने समस्याले पनि आयोजनामा केही अवरोध पुर्‍याएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै