बीपी राजमार्ग एकतर्फी सञ्चालनमा, आइतबारदेखि पूर्णरूपमा खुल्ने

काठमाडौँ । संघीय राजधानी काठमाडौँलाई बाग्मती, मधेश र कोशी प्रदेशका जिल्लाहरूसँग जोड्ने बीपी राजमार्ग शुक्रबार दिउँसोबाट एकतर्फी सञ्चालनमा आएको छ ।

असोज १७, १८ र १९ गतेको लगातारको वर्षासँगै आएको बाढी पहिरोका कारण राजमार्गको काभ्रे र सिन्धुली का विभिन्न १३ स्थानमा करिब ४ किलोमिटर सडक खण्डमा क्षति पुगेको थियो ।

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौँका प्रमुख शुभराज न्यौपानेले दिएको जानकारीअनुसार, क्षतिग्रस्त सडकलाई अस्थायी रूपमा मर्मत गरी एकतर्फी खोलिएको हो। सडक आइतबारबाट भने दुईतर्फी (पूर्णरूपमा) सञ्चालनमा आउनेछ ।

क्षतिको विवरण र मर्मत कार्य

अवरुद्ध सडक खुलाउन रोशीखोलामा डाइभर्सन निर्माण, बगर मिलाउने र खाल्डा पुर्ने जस्ता कार्यहरू गरिएका छन्। बाढी पहिरोले सबैभन्दा बढी क्षति काभ्रेको चौकीडाँडा मा पुर्‍याएको थियो।

क्षतिग्रस्त क्षेत्रहरू:-

काभ्रे: कटुञ्जे, चारसयबेंसी, चिउरीबास, मङ्गलटार (बोक्सीकुना), कालढुङ्गा, पिप्ले (माथिल्लो र तल्लो), मान्ती (माथिल्लो र तल्लो)।

सिन्धुली: बालुवा, आँपघारी र नेपालथोक (झोलुङ्गे पुल नजिक)।

क्षतिग्रस्त सडकको मर्मत कार्य सोमबारबाट सुरु गरिएको थियो।

मन्त्रीद्वारा अनुगमन

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार बिहान चौकीडाँडा क्षेत्रको अनुगमन गरी सडक मर्मतको जानकारी लिएका थिए । उनले उपकरण तथा जनशक्ति थप गर्न र बत्तिको व्यवस्था गरी राति पनि काम गर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै