बिपी राजमार्ग असोज १ गतेदेखि २४ सै घण्टा सञ्चालन हुने

काभ्रेपलाञ्चोक । यस वर्षको मनसुन सुरु भएदेखि रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको बिपी राजमार्ग आगामी असोज १ गतेदेखि २४ सै घण्टा सञ्चालनमा आउने भएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुन सकिन लागेको र दसैँ, तिहार जस्ता चाडपर्वलाई लक्षित गरी यो निर्णय गरेको हो। यात्रुको सहजताका लागि र सडक सुरक्षामा सजगता अपनाउन यो कदम चालिएको समितिले जनाएको छ ।

मनसुनका कारण बाढी र पहिरोको जोखिम बढेपछि गत असार पहिलो सातादेखि नै बिपी राजमार्गको धुलिखेलदेखि सिन्धुलीको नेपालथोक खण्डमा राति १२ घण्टा यातायात सञ्चालनमा पूर्ण रोक लगाइएको थियो। सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार जोखिम न्यूनीकरणका लागि यो व्यवस्था गरिएको थियो ।

उनका अनुसार यसअघि भदौ १६ गतेदेखि थप १५ दिनका लागि सवारी सञ्चालनमा रोक लगाइएको थियो, जुन भदौ मसान्तसम्मका लागि थियो ।

पूर्वी नेपाललाई छोटो दूरीमा जोड्ने यो राजमार्गबाट दैनिक हजारौं सवारीसाधन आवतजावत गर्छन् । गत वर्षको बाढीपहिरोले राजमार्गको केही खण्डमा ठूलो क्षति पुर्‍याए पनि हाल सडकको अवस्था सामान्य बन्दै गएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै