
काठमाडौँ । चितवन कोइ ग्रुप र अग्नि ग्रुपको संयुक्त लगानीमा पोखराको पुम्दिकोटमा नयाँ केबलकार सञ्चालनमा आउने भएको छ। पुम्दिकोट महादेव केबलकार नाम दिइएको यस परियोजनामा कुल १ अर्ब ६० करोड ४० लाख रुपैयाँ लगानी गरिनेछ।
लगानी संरचना र परियोजनाको विवरण
केबलकारको पूर्वाधार निर्माणका लागि कुल लगानीको ८० प्रतिशत बैंक ऋण र बाँकी २० प्रतिशत स्वपुँजी (इक्विटी) रहने गरी वित्तीय संरचना बनाइएको छ। हाल परियोजनाका लागि जग्गा प्राप्तिको काम भइरहेको विकासकर्ता कम्पनी पुम्दिकोट महादेव केबलकारले जनाएको छ।
केबलकारको लम्बाइ १.१ किलोमिटर रहेको छ र यसको प्रतिकिलोमिटर लागत करिब १ अर्ब ४५ करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ। विकासकर्ता कम्पनीले आगामी वर्ष, जुलाई २०२६ को मध्यसम्ममा परियोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ। सामान्यतया, यस्ता केबलकार परियोजनाहरू सम्पन्न गर्न लगभग १.५ वर्ष लाग्छ। यद्यपि, निर्माणमा अप्रत्याशित ढिलाइ वा लागत वृद्धि भएमा यसले कम्पनीको वित्तीय प्रोफाइलमा असर पार्न सक्नेछ। केबलकार सञ्चालनमा आएपछि ऋण तिर्न करिब ११ वर्ष लाग्ने अनुमान छ।
पर्यटकीय महत्त्व र कम्पनी प्रोफाइल
पुम्दिकोट महादेव केबलकार कम्पनी सन् २०२३ मा स्थापना भएको हो। यो परियोजना पोखरा महानगरपालिकाको पुम्दीकोटमा विकास गरिँदैछ। यस स्थानमा पोखरा सहर र अन्नपूर्ण हिमशृङ्खलाको रमणीय दृश्यसँगै पहाडको टुप्पोमा महादेवको भव्य मूर्ति स्थापना गरिएको छ, जसले तीर्थयात्रीहरू र अन्य पर्यटकहरूलाई आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
केबलकार निर्माण समूहमा चितवन कोइ ग्रुपका सञ्चालक राजेशबाबु श्रेष्ठ र अग्नि ग्रुपको तर्फबाट अर्जुनप्रसाद शर्मा रहेका छन्। चितवन कोइ ग्रुप सन् १९९८ देखि मुलुककै पहिलो मनकामना केबलकार सञ्चालन गरिरहेको छ। कम्पनीले १ अर्ब २८ करोड ४० लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ।
हाल नेपालमा मनकामना, चन्द्रागिरी, मौलाकाली, लुम्बिनी र कालिञ्चोकमा केबलकार सञ्चालनमा छन् भने पछिल्लो समय रिसोर्टसहितका केबलकार परियोजनाहरू धमाधम बनिरहेका छन्।