काठमाडौँ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नेपालमा थप २५ करोड अमेरिकी डलर (करिब ३३ अर्ब रुपैयाँभन्दा बढी) लगानी गर्ने घोषणा गरेको छ ।
ललितपुरमा आयोजित ‘कान्तिपुर कन्क्लेभ २०२६’ अन्तर्गतको ‘अर्थतन्त्रको पुनरुत्थान, विश्वासको पुनः स्थापना’ सत्रमा सोमबार बोल्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) माइकल फोलेले सरकारबाट आवश्यक अनुमति र नीतिगत सुनिश्चितता पाएमा उक्त लगानी गर्न कम्पनी तयार रहेको बताएका हुन् ।
“एनसेललाई अनुमति दिएमा हामी तत्काल फाइभजी (5G) प्रविधि भित्र्याउनेछौं,” सिइओ फोलेले भने, “हामी नेपालको डिजिटल भविष्यप्रति विश्वस्त छौं र लगानी विस्तार गर्न चाहन्छौं। हामीलाई डेटा सेन्टरहरू स्थापना गर्न आवश्यक छ, जसका लागि लगानीको वातावरण हुनुपर्छ ।”
उनले आगामी मार्चमा हुने निर्वाचन र त्यसपछिको नीतिगत स्थिरताले लगानीको सुनिश्चितता गर्ने विश्वास व्यक्त गरे। नेपालमा सञ्चालन भएको २२ वर्ष पुगेको स्मरण गर्दै उनले एनसेलले अझै लामो समय सेवा दिने लक्ष्य राखेको सुनाए ।
प्रविधिको क्षेत्रमा नेपाल छिमेकी मुलुकहरूभन्दा ५ देखि ८ वर्ष पछाडि रहेको उल्लेख गर्दै फोलेले भने, “विश्वव्यापी मापदण्डसँग तुलना गर्दा यो खाडल अझ गहिरो छ । नेपाललाई प्रविधिमा अगाडि बढाउन ठूलो लगानी र सही नीतिको खाँचो छ।” विदेशी लगानी रहेको एनसेल दुई दशकभन्दा लामो समयदेखि नेपालमा सक्रिय छ ।