
काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले ग्राहकहरूको बढ्दो मागलाई सम्बोधन गर्न नयाँ ९७१ नम्बर रेन्जबाट सुरु हुने मोबाइल नम्बरहरू उपलब्ध गराउने भएको छ । कम्पनीले आगामी साउनको दोस्रो साताभित्रै यी नयाँ सिमहरू वितरण गर्ने तयारी गरेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठ १४ गते एनसेललाई यो नम्बर रेन्ज प्रयोग गर्ने अनुमति दिएको थियो। प्राधिकरणका अनुसार, एनसेलले यसअघि प्रयोग गरिरहेका ९८०, ९८१, ९८२ र ९७० नम्बर रेन्जका मोबाइल नम्बरहरू सेवाग्राहीका लागि अपुग भएपछि नयाँ रेन्ज प्रदान गरिएको हो ।
किन आवश्यक पर्यो नयाँ नम्बर रेन्ज ?
यो नयाँ नम्बर रेन्ज प्राधिकरणको राष्ट्रिय नम्बरिङ वितरण योजना (National Numbering Allocation Plan) को नियम अनुसार जारी गरिएको एनसेलले जनाएको छ । दूरसञ्चार सेवाका अतिरिक्त, मोबाइल नम्बरको प्रयोग पछिल्लो समय विभिन्न डिजिटल कारोबार र सेवाहरूका लागि अपरिहार्य बनेको छ । वान टाइम पासवर्ड (OTP) प्राप्त गर्न, मोबाइल एप र वेबमा आधारित सेवाहरूमा साइन अप गर्न, र अन्य डिजिटल गतिविधिहरूका लागि मोबाइल नम्बरको ठूलो आवश्यकता पर्छ । बढ्दो डिजिटल निर्भरताले गर्दा मोबाइल नम्बरको माग पनि ह्वात्तै बढेको छ ।
प्रणाली अद्यावधिक गर्न एनसेलको अनुरोध
एनसेलले विभिन्न सेवाप्रदायक कम्पनीहरू, सरकारी तथा गैर-सरकारी संस्थाहरू, कार्यालयहरू, बैंक तथा वित्तीय संस्थाहरूलाई यो नयाँ नम्बर रेन्जलाई हाल सञ्चालनमा रहेका अन्य रेन्जसरह ग्राहक सेवाका लागि आ-आफ्नो प्रणालीमा एकीकृत (Integrate) वा अद्यावधिक (Update) गर्न अनुरोध गरेको छ । यसबाट ९७१ रेन्जका नम्बरहरू प्रयोग गर्दा कुनै प्राविधिक समस्या नआओस् र ग्राहकहरूले सहज सेवा प्राप्त गर्न सकून् ।
यो कदमले एनसेलका ग्राहकहरूलाई नयाँ नम्बर छनोट गर्ने अवसर प्रदान गर्नुका साथै नेपालमा डिजिटल सेवाको विस्तारमा मोबाइल नम्बरको उपलब्धता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।