एनसीएचएल र एन्ट इन्टरनेसनलले क्रस–बोर्डर क्यूआर भुक्तानी मार्फत पर्यटन प्रवर्द्धन गर्ने

काठमाडौँ । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र विश्वव्यापी डिजिटल भुक्तानी तथा वित्तीय प्रविधिमा अग्रणी एन्ट इन्टरनेसनलले नेपालको पर्यटन क्षेत्र प्रवर्द्धन गर्ने उद्देश्यले एक संयुक्त कार्यक्रम आयोजना गरेका छन्।

बैंक तथा वित्तीय संस्था र पर्यटन क्षेत्रका सरोकारवालाहरूको उपस्थितिमा आयोजित यस कार्यक्रमले अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीको भूमिकामा जोड दिएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डित र निर्देशक सुभाषचन्द्र घिमिरे, नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शर्मा, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलिया, होटल एसोसिएसन नेपाल (हान) का सीईओ टेकबहादुर महत, नेपाल पर्यटन बोर्डका निर्देशक सन्तोष पन्त, अलिपे प्लसका कन्ट्री म्यानेजर सिट्टिपोङ किट्टिप्रापापोङ, एनसीएचएलका सीईओ नीलेशमान सिंह प्रधान लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो।

एनसीएचएल र एन्ट इन्टरनेसनलले गत वर्ष कात्तिकमा नेपालपे क्यूआर र अलिपे प्लस बीच क्रस-बोर्डर भुक्तानी सेवा सुरु गरेका थिए। यस सेवामार्फत १७ भन्दा बढी अन्तर्राष्ट्रिय ई-वालेट र मोबाइल बैंकिङ एपहरू प्रयोग गरी नेपालका १२ लाखभन्दा बढी मर्चेन्टहरूलाई भुक्तानी गर्न सकिन्छ।

अलिपे प्लस नेटवर्कमा आबद्ध प्रमुख भुक्तानी साझेदारहरू

अलिपे (चिनियाँ मेनल्यान्ड), अलिपे एचके (हङकङ एसएआर), ताइवान (इटाली), एमपे (मकाओ एसएआर), टच एन वालेट र पब्लिक बैंक बर्हाडको माइपीबी (मलेसिया), हाइपे (मंगोलिया), जिक्यास (फिलिपिन्स), चांगी पे र ओसीबीसी सिंगापुर (सिङ्गापुर), नेभर पे र टस पे (दक्षिण कोरिया), र ट्रु पे (थाइल्यान्ड), बिग पे (सिङ्गापुर, थाइल्यान्ड, मलेसिया) लगायतका पार्टनर एपहरूबाट नेपालपे क्यूआर स्क्यान गरी क्रस-बोर्डर भुक्तानी गर्न सकिन्छ।

यस संयुक्त कार्यक्रममा नेपालको पर्यटन प्रवर्द्धनमा डिजिटाइजेसनको भूमिका बारे बृहत् छलफल भयो। कार्यक्रममा नेपालको आन्तरिक पर्यटनलाई थप प्रवर्द्धन गर्दै डिजिटल अर्थतन्त्र विकासमा डिजिटल भुक्तानीका माध्यमहरूको भूमिका र यसबाट अन्तर्राष्ट्रिय पर्यटक तथा स्थानीय मर्चेन्टहरूलाई पुग्ने फाइदाहरूबारे विशेष रूपमा छलफल गरिएको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै