नेपालको डिजिटल भुक्तानी क्षेत्रमा कोशेढुंगा, ‘आइएमई खल्ती’ नाममा एकीकृत कारोबार हुने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले अनुमतिपत्र प्राप्त भुक्तानी सेवा प्रदायक संस्थामध्ये दुई ठूला डिजिटल वालेट आइएमई पे र खल्तीलाई मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको छ। नेपालको इतिहासमा दुई ठूला डिजिटल वालेट एकीकृत भई कारोबार गर्न लागेको यो नै पहिलो पटक हो। डिजिटल कारोबारको छोटो इतिहास भए पनि यसको तीव्र प्रयोगलाई यो मर्जरले थप पुष्टि गरेको छ।

आइएमई पे र खल्तीको एकीकृत कारोबारपश्चात कम्पनीको आधिकारिक नाम ‘आइएमई खल्ती लिमिटेड’ रहनेछ। यसको रजिस्टर्ड कार्यालय काठमाडौंको पानीपोखरीमा रहनेछ। संयुक्त कारोबार सुरु भएपछि आधिकारिक रूपमा एपको नाम ‘खल्ती’ रहनेछ। ठूलो चुक्ता पुँजी र पचास लाखभन्दा बढी आधिकारिक प्रयोगकर्ताहरूले खल्ती एपलाई नेपालकै सबैभन्दा ठूलो र बलियो डिजिटल वालेटको रूपमा स्थापित गरेको कम्पनीको दाबी छ। यस मर्जरबाट भुक्तानी सेवा प्रदायक क्षेत्रमा नेपालको ग्रामीण क्षेत्रसम्म पहुँच विस्तारमा तीव्रता आउने विश्वास कम्पनीले लिएको छ।

नेपाल राष्ट्र बैंकबाट एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति पाएसँगै आगामी तीन महिनासम्म प्रयोगकर्ताहरूको समायोजन कार्य तीव्र रूपमा अगाडि बढ्ने कम्पनीले जनाएको छ। यो अवधिमा आइएमई पे र खल्ती दुवै एप यथावत् सञ्चालनमा रहनेछन्। दुवै वालेटका प्रयोगकर्ताहरूको रकम, रोयल्टी पोइन्टहरू (खल्ती पोइन्ट र आइएमई पे रिवार्ड पोइन्ट) पनि यसै समयमा एकीकृत गरिनेछन्।

खल्ती र आइएमई पे दुवैमा रहेका प्रयोगकर्ताहरू एकै ट्यापमा एपमा एकीकृत हुनेछन् भने आइएमई पेमा मात्र भएका प्रयोगकर्ताहरूलाई उनीहरूको स्वीकृतिमा खल्तीमा समावेश गरिनेछ। नयाँ प्रयोगकर्ताहरूले सिधै खल्ती एप डाउनलोड गरेर नयाँ फिचरहरू प्रयोग गर्न सक्नेछन्। आइएमई पे एप प्रयोग गरिरहेका प्रयोगकर्ताहरूले पनि अब खल्ती एपबाटै सबै सेवा सुविधाको उपयोग गर्न सक्नेछन्।

संयुक्त कारोबारपश्चात एपको नाम खल्ती भए पनि आइएमई पेमा भएका सबै फिचरहरू त्यहाँ समावेश हुनेछन्। आइएमई पेमा रहेका ग्राहकहरू पनि एक ट्यापमै खल्ती एपमा आबद्ध हुन सक्नेछन् र उनीहरूको ब्यालेन्स तथा रिवार्ड पोइन्टहरू सहजै खल्तीमा स्थानान्तरण हुनेछन्। यस कार्यबाट खल्ती एप सहज र सुविधाजनक डिजिटल प्लेटफर्मको रूपमा स्थापित हुने विश्वास कम्पनीको छ।

कम्पनीका अनुसार, यो डिजिटल भुक्तानी प्रणाली आगामी दिनमा व्यापक रूपमा प्रयोग हुने मात्र नभई सबैभन्दा विश्वासिलो भुक्तानी प्रणालीका रूपमा रहनेछ। डिजिटल भुक्तानी विस्तारै दैनिक जीवनको एक हिस्सा बन्दै गरेको वर्तमान समयमा आइएमई पे र खल्तीबीचको संयुक्त कारोबार नेपालको डिजिटल क्षेत्रमा कोशेढुंगा साबित हुने विश्वास लिइएको छ।

खल्ती वालेटले आगामी दिनहरूमा प्रयोगकर्ताहरूलाई फिनटेक क्षेत्रमा नयाँ अनुभव प्रदान गर्ने बताएको छ। एपमार्फत प्रयोगकर्ताहरूले विश्वको कुनै पनि ठाउँबाट पठाएको रेमिटेन्स सजिलै वालेटमा प्राप्त गर्न सक्नेछन् भने एपमार्फत नै बैंक खाता खोल्न, भिसा कार्ड प्राप्त गर्न सक्नेछन्। भविष्यमा ऋण तथा अन्य सुविधाको पहुँच पनि खल्ती एपमै विस्तार हुनेछ। यसरी खल्ती एपले फिनटेक प्रणालीलाई नयाँ र बलियो दिशा प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ।

विकासोन्मुख समाजमा डिजिटल वालेटको प्रयोग व्यापक भइरहेको र हरेक उमेर समूहका व्यक्तिहरू यसमा होमिएको वर्तमान अवस्थामा यो मर्जरले गतिशील समाजलाई आर्थिक कारोबारमा थप गतिशील बनाउने दुवै कम्पनीको विश्वास छ। साथै, दुई ठूला कम्पनीको मर्जरले केन्द्रीय बैंकले लिएको फिनटेक सम्बन्धी पहुँच विस्तारमा सहयोग पुग्ने, नगद कारोबारमा कमी आउने, विद्युतीय कारोबार शहरीदेखि ग्रामीण भेगसम्म विस्तार हुने, आर्थिक क्रियाकलापमा पारदर्शिता बढ्ने र समय तथा खर्चको सदुपयोग हुने विश्वास कम्पनीले लिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै