
दूरसञ्चारमन्त्रीको ‘फलदायी बैठक’, मुकेश अम्बानी र भारती एयरटेलसँग पनि सम्झौताको चर्चा
नयाँदिल्ली, (एएफपी)। भारत सरकारले एलन मस्कको स्याटेलाइट इन्टरनेट सेवा स्टारलिङ्कलाई इजाजतपत्र (लाइसेन्स) प्रदान गरेको छ । यसले भारतमा इन्टरनेट कनेक्टिभिटीको ‘अर्को सीमा’ खोलेको भारतका सञ्चारमन्त्री ज्योतिरादित्य सिन्धियाले बताएका छन् ।
पृथ्वीको तल्लो कक्षमा रहेका उपग्रहहरू प्रयोग गरी दुर्गम स्थानहरूमा समेत उच्च गतिको इन्टरनेट पहुँच प्रदान गर्ने स्टारलिङ्कको यस प्रवेशले भारतमा प्रिडेटरी मूल्य निर्धारणदेखि स्पेक्ट्रम बाँडफाँटसम्मका विषयमा तीव्र बहस सुरु गराएको छ ।
सञ्चारमन्त्री सिन्धियाले स्टारलिंकका मालिक स्पेसएक्सका अध्यक्ष तथा प्रमुख परिचालन अधिकारी ग्वेनी सटवेलसँग ‘फलदायी बैठक’ भएको जानकारी दिए । “सटवेलले स्टारलिंकलाई दिइएको इजाजतपत्रको प्रशंसा गर्दै यसलाई यात्राको उत्कृष्ट सुरुआत भनेका छन्,” मन्त्री सिन्धियाले मङ्गलबार मस्कको सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मार्फत जानकारी दिए ।
यो लाइसेन्स भारतका दुई ठूला टेलिकम सेवा प्रदायक जिओ प्लेटफर्म्स र यसको प्रतिद्वन्द्वी भारती एयरटेलले मार्चमा आफ्ना ग्राहकहरूलाई स्टारलिंक इन्टरनेट सेवा प्रदान गर्न स्पेसएक्ससँग सम्झौता गरेको घोषणापछि आएको हो । स्पेसएक्सका मालिक एलन मस्कले एसियाका सबैभन्दा धनी व्यक्ति तथा जिओ प्लेटफर्म्सका मालिक मुकेश अम्बानीसँग स्याटेलाइट स्पेक्ट्रम कसरी उपलब्ध गराउने भन्ने विषयमा कुरा गरेका छन् ।
हाल भारतमा मस्कका व्यापारिक चासोहरू ‘एक्स’ मा मात्र सीमित भए पनि उनको इलेक्ट्रिक सवारी साधन निर्माता कम्पनी टेस्लाले पनि भारतमा प्रवेशको तयारी गरिरहेको छ ।