
काठमाडाैँ । दक्षिण कोरियाली ब्रान्ड सामसङको सबैभन्दा पातलो स्मार्टफोन सार्वजनिक भएको छ । आफ्नो प्रतिद्वन्द्वी एप्पललाई टक्कर दिन सामसङले आफ्नो सबैभन्दा पातलो स्मार्टफोन एस२५ एज सार्वजनिक गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
नयाँ सार्वजनिक भएकाे ५ दशमलव ८ मिलिमिटर पातलो यो फोनमा कृत्रिम बुद्धिमता अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) का सुविधाहरू बढाइएको र एप्पललाई उछिन्दै अघि बढ्ने लक्ष्य राखेको खबरमा उल्लेख छ ।
विशेषगरी २० र ३० वर्ष उमेर समूहका उपभोक्ताहरूको मागलाई सम्बोधन गर्न यो फोन बनाइएको सामसङले जनाएको छ । १६३ ग्रामको यो फोनले थप पोर्टेबल स्मार्टफोनको मागलाई सम्बोधन गर्ने कम्पनीको दाबी छ ।
एस २५ एजमा २०० मेगापिक्सेलको मुख्य क्यामेरा र अगाडि १२ मेगापिक्सेलको सेल्फी क्यामेरा छ । एस २५ एज मे २३ मा दक्षिण कोरियामा र मे ३० मा अमेरिकामा उपलब्ध हुनेछ । यो फोनको शुरुआती मूल्य १ हजार ९९ अमेरिकी डलर छ ।
सामसङको प्रतिद्वन्द्वी एप्पलले पनि चाँडै आईफोन १७ एअर ल्याउँदैछ । यो फोन अझ पातलो र हलुका हुने अनुमान छ ।