ट्रक यातायात व्यवसायी महासंघको नयाँ नेतृत्वलाई सिप्रदीको सम्मान

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघको नयाँ नेतृत्वलाई नेपाल टाटा ब्राण्डका गाडीहरु बिक्री गर्दै आएको कम्पनी सिप्रदी ट्रेडिङ प्रा.लि.ले सम्मान गरेको छ ।

महासंघको आठौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । गत पुस २७ मा सम्पन्न महासंघको सत्रौँ वार्षिक साधारण सभा तथा आठौँ महाधिवेशनबाट राजेन्द्रविक्रम बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको थियो ।

सोही अवसरलाई केन्द्रमा राख्दै सोमबार आयोजित कार्यक्रममा नयाँ नेतृत्वलाई स्वागत गर्दै सिप्रदीले सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको हो ।

कार्यक्रममा सिप्रदी ट्रेडिङको प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठले नयाँ नेतृत्वसँग निरन्तर सहकार्य गर्दै यातायात क्षेत्रको विकासमा योगदान दिने प्रतिबद्धता जनाए ।

उनले बदलिँदो समयसँगै भित्रिएको नयाँ प्रविधि, विशेषगरी बीएस–६ मापदण्डले ल्याएका चुनौतीहरूलाई सामना गर्न चालक तथा व्यवसायीलाई प्राविधिक तालिम र सचेतना आवश्यक रहेकोमा जोड दिए ।

श्रेष्ठका अनुसार सिप्रदीले नेपालका भौगोलिक अवस्था र सडक संरचनालाई ध्यानमा राख्दै आफ्ना सवारी साधनहरूको परीक्षण गरिसकेको छ । साथै, देशभर मर्मत सम्भार सेवालाई सुदृढ बनाउन प्राविधिक जनशक्ति उत्पादन र वर्कसप स्तरोन्नतिमा कम्पनीले तयारी गरिसकेको उनले बताए ।

निजी मेकानिक्सहरूलाई समेत तालिम दिने कार्य अघि बढाइएको उल्लेख गर्दै श्रेष्ठले नयाँ प्रविधिमा सहज अनुकूलनका लागि सबै पक्षबिच सहकार्य अपरिहार्य रहेको धारणा राखे ।

त्यसैगरी, महासंघका अध्यक्ष बानियाँले स्वदेशी यातायात व्यवसाय संरक्षणका लागि नीति तथा नियमन सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याए । उनले भारतीय सवारी साधनको निर्बाध प्रवेशले नेपाली व्यवसायमा असर परेको उल्लेख गर्दै यसको व्यवस्थापन र नियमनमा ध्यान दिन सरकारसमक्ष आग्रह गरे ।

विदेशी सवारीको बढ्दो प्रयोगले स्वदेशी लगानी र रोजगारीमा असर परेको उनको भनाइ थियो । बानियाँले २० वर्षे सवारी साधन विस्थापन नीतिप्रति पनि प्रश्न उठाउँदै नेपालको सन्दर्भअनुसार व्यावहारिक नीति आवश्यक रहेको बताए ।

साथै, नयाँ बीएस–६ प्रविधिका सवारी साधनहरूको प्रभावकारी प्रयोगका लागि निजी मेकानिक्सहरूलाई तालिम, देशभर स्तरीय वर्कसप विस्तार र सुलभ दरमा जेनुइन पार्ट्स उपलब्ध गराउन कम्पनीसँग उनले आग्रह गरे ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै