नाडाका नवनिर्वाचित अध्यक्ष उप्रेतीद्वारा पदभार ग्रहण, कार्यसमिति विस्तार र शपथ सम्पन्न

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को नवनिर्वाचित कार्यसमितिले औपचारिक रूपमा कार्यभार सम्हालेको छ । फागुन २८ गते बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा निवर्तमान अध्यक्ष करण चौधरीले नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीलाई विधिवत रूपमा पदभार हस्तान्तरण गरे ।

सो अवसरमा निवर्तमान अध्यक्ष चौधरीले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै अटोमोबाइल क्षेत्रको उत्थानमा उप्रेतीको कार्यकाल फलदायी हुने विश्वास व्यक्त गरे ।

अध्यक्षको प्रतिबद्धता र शपथ

पदभार ग्रहणसँगै नवनिर्वाचित अध्यक्ष उप्रेतीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले आफ्नो कार्यकालमा नाडाको विधान र मूल्य-मान्यता अनुरूप संस्थालाई थप सशक्त, सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता जनाए । उप्रेतीले व्यवसायीहरूको हकहित संरक्षण र सरोकारवाला निकायहरूसँगको सहकार्यलाई प्राथमिकता दिने बताए ।

कार्यसमितिमा सदस्य मनोनयन

बैठकमै अध्यक्ष उप्रेतीले नाडा विधान २०७८ को दफा २०.१ (ङ) बमोजिम रिक्त तीन सदस्य पदमा मनोनयन गरेका छन् । मनोनित हुनेहरूमा महेश पाल, दीपककुमार अग्रवाल र राजेश गिरी रहेका छन् । अध्यक्षले नवनियुक्त सदस्यहरूलाई स्वागत गर्दै संस्थाको आगामी गतिविधिमा सक्रिय भूमिका खेल्न आग्रह गरे ।

पदाधिकारी चयन प्रक्रिया

नाडाको केन्द्रीय कार्यसमितिले निकट भविष्यमै बाँकी पदाधिकारीहरूको चयनका लागि निर्वाचन प्रक्रिया सम्पन्न गर्ने निर्णय समेत गरेको छ । आगामी दिनमा अटोमोबाइल क्षेत्रको नीतिगत सहकार्य र व्यवसायीहरूको व्यावसायिक सुरक्षालाई थप सुदृढ बनाउने नाडाले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै