काठमाडौँ । निसानले लामो समयपछि भारतीय बजारमा ल्याउन लागेको नयाँ मिडसाइज एसयूभी टेकटनको अहिले निकै चर्चा चलिरहेको छ ।
रेनो निसानको सीएमएफ बी प्ल्याटफर्ममा बनेको टेकटन सन् २०२६ को फेब्रुअरीमा सार्वजनिक हुनेछ । यसको आधिकारिक बिक्री २०२६ जुनदेखि हुनेछ । निसान टेकटन भारतमा बिक्री सुरू भए लगत्तै नेपालमा लन्च गर्ने योजना रहेको निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्पले जनाएको छ ।
सन् २०२० पछि निसानले लन्च गर्न लागेको नयाँ एसयूभीमा आधुनिक फिचर र नयाँ प्रविधिको पावरट्रेन दिने योजना बनाएको छ । निसानले जापानमा केही समय अघि टेकटनको पहिलो झलक देखाएको थियो । अहिले कम्पनीले टिजर इमेजहरू समेत रिभिल गर्न थालिसकेको छ ।
एक्सटेरियर डिजाइन स् निसानको टेकटनको फ्रन्टमा एलईडी हेडल्याम्पको साथमा कनेक्टेड एलईडी डीआरएल रहेको छ । यसको बोनेट मस्कुलर डिजाइनको टेकटनको ब्राण्डिङ सहितको छ । रियरमा पनि फ्रन्टमा जस्तै कनेक्टेड एलईडी टेललाइट सेटअप र टेलगेटमा टेकटनको ब्याजिङ रहेको छ । टेकटनको डिजाइन निसानको फ्ल्यागशिप एसयूभी पेट्रोलबाट प्रभावित भएको देखिन्छ ।
टेकटनको इन्टेरियर आधुनिक फिचरले भरिपूर्ण रहेको छ । यसमा तीन कलर टोनको ड्यासबोर्ड, डिजिटल ड्राइभर डिस्प्ले, टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एण्डरोइड अटो, वायरलेस फोन चार्जर, भेन्टिलेटेड फ्रन्टसिट, पानारोमिक सनरुफ लगायत फिचर छ । सुरक्षाको लागि टेकटनमा ६ वटा एयरब्याग, एबीएस, ईबीडी, ३६० डिग्री क्यामरा, ब्लाइण्ड स्पट मनिटरिङ, इलेक्ट्रोनिक पार्किङ ब्रेक, अटोहोल्ड, टायर प्रेसर मनिटरिङ जस्ता फिचर छन् ।
निसानले टेकटनमा १.३ लिटरको टर्बो चाज्ड पेट्रोल इन्जिन दिनेछ । यो इन्जिनले १५६ हर्सपावर र २५४ न्युटन मिटरको टर्क जेनेरेट गर्छ । कम्पनीले टेकटनमा केही समयपछि स्ट्रङ हाइब्रिड पावरट्रेन समेत ल्याउने तयारी गरेको छ । रेनो निसानको अन्तराष्ट्रिय बजारमा १४९ हर्सपावर दिने १।६ लिटरको स्ट्रङ हाइब्रिड इन्जिन प्रयोगमा रहेकोले कम्पनीले टेकटनमा समेत स्ट्रङ हाइब्रिड भर्सनमा यही इन्जिन दिने सम्भावना छ ।
निसानले टेकटन ५ सिटे भर्सनमा ल्याउने कन्फर्म गरिसकेको टेकटन ७ सिटेमा पनि ल्याउने घोषणा गरेको छ । कम्पनीले सन् २०२७ सम्ममा ७ सिटे एसयूभी लन्च गर्ने योजना सार्वजनिक गरेको छ ।
निसानले ल्याउने ७ सिटे एसयूभी टेकटनको एक्सटेन्डेड भर्सन नभई नयाँ प्रडक्ट नै हुने बताइसकेको छ । निसानले ल्याउने ७ सिटे एसयूभी अन्तर्राष्ट्रिय बजारमा रेनो बिगस्टरको नाममा बिकीरहेको एसयूभीमा आधारित हुनेछ ।