
काठमाडौँ । हुन्डाई सवारीसाधनको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालगञ्जमा नयाँ ‘क्रेटा ईभी’ सार्वजनिक गरेको छ। यस अवसरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा व्यापक सहभागिता र उत्साहजनक प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ।
ईभी खरिदमा ग्राहकका दुविधा समाधान
कम्पनीका अनुसार, नयाँ क्रेटा ईभीको आगमनले विद्युतीय सवारीसाधन खरिद गर्नेबारे दुविधामा रहेका ग्राहकहरूलाई स्पष्ट निर्णय लिन मद्दत गर्नेछ। ईभी खरिद गर्दा स्पेयर पार्ट्सको उपलब्धता, सेवा शुल्क र दीर्घकालीन ब्रान्ड सपोर्टबारे ग्राहकमा हुने शंकाहरूलाई सम्बोधन गर्न हुन्डाई नेपालले क्रेटा आईसीई (पेट्रोल) मोडेलको नेपालमै उत्पादन थालिसकेको र क्रेटा ईभी तथा आईसीई दुवै मोडेलमा एउटै प्लेटफर्म प्रयोग हुने भएकाले सेवा सुविधामा समस्या नहुने बताएको छ।
चार्जिङ नेटवर्क विस्तार र बलियो सपोर्ट
लक्ष्मी हुन्डाईले ईभी इकोसिस्टमलाई थप मजबुत बनाउन ‘रिल्याक्स चार्जिङ नेटवर्क’ विस्तार गरिरहेको छ। हाल देशभरि विभिन्न स्थानमा ६६ वटा डीसी र एसी चार्जरहरू सञ्चालनमा आइसकेका छन्। यसले गर्दा ग्राहकलाई हुन्डाईको पेट्रोल (आईसीई) वा ईभी कुनै पनि गाडी खरिद गर्दा सेवा, पार्ट्स र सपोर्टमा कुनै कमी नहुने कम्पनीको दाबी छ।
कम्पनीको उच्च व्यवस्थापन टोली नेपालभरि यो सन्देश फैलाउन देशका विभिन्न सहरमा डिलरहरूसँग प्रत्यक्ष भेटघाट गरिरहेको छ। यसै अभियानअन्तर्गत असार ९ गते नेपालगञ्जस्थित हुन्डाईको आधिकारिक डिलर हिम इन्टरकन्टिनेन्टल प्रालिको आयोजनामा पिस सिद्धार्थ कटेज रेस्टुरेन्ट सुर्खेत रोडमा आयोजित विशेष भेटघाट कार्यक्रममा नयाँ क्रेटा ईभी सार्वजनिक गरिएको थियो।
उत्साहजनक बुकिङ र ग्राहक विश्वास
नेपालगञ्जमा आयोजित कार्यक्रममा क्रेटा ईभीसहित हुन्डाईका अन्य नयाँ मोडेलहरू पनि प्रदर्शन गरिएको थियो। यस कार्यक्रममा ग्राहकहरूको हुन्डाईप्रतिको उत्साहजनक क्रेज र विश्वास उल्लेखनीय देखिएको कम्पनीले जनाएको छ। पछिल्ला कार्यक्रमहरूको रेकर्ड तोड्दै सोही स्थानबाट ४ भन्दा बढी क्रेटा ईभी युनिटको बुकिङ कन्फर्म गरिएको र ४ वटा क्रेटा ईभी ग्राहकलाई हस्तान्तरण पनि गरिएको कम्पनीले जानकारी दिएको छ।
कम्पनीका अनुसार, यस क्षेत्रका मानिसहरूले हुन्डाईप्रति अद्वितीय विश्वास र भरोसा राखेका छन्। सम्भवतः यस क्षेत्रमै हुन्डाईको एसेम्बली प्लान्ट रहेकाले यहाँका मानिसमा हुन्डाईको गाडी र सेवाप्रति बलियो विश्वास रहेको कम्पनीको दाबी छ।