
उत्पादन लक्ष्य दुई तिहाइले घट्यो, आपूर्ति शृङ्खलामा समस्या।
काठमाडौँ । भारतीय सवारी निर्माता कम्पनी मारुती सुजुकीले आफ्नो पहिलो विद्युतीय सवारी ‘ई-भिटारा’ को उत्पादनमा भारी कटौती गरेको छ। चीनले दुर्लभ खनिजहरूको निर्यातमा प्रतिबन्ध लगाएपछि आपूर्तिमा गम्भीर समस्या आएकाले कम्पनीले यस्तो निर्णय लिएको हो।
रोयटर्सका अनुसार, मारुती सुजुकीले अप्रिलदेखि सेप्टेम्बरसम्मको अवधिमा सुरुमा २६ हजार ५१२ युनिट ‘ई-भिटारा’ उत्पादन गर्ने योजना बनाएको थियो। तर, चीनको प्रतिबन्धपछि यो संख्या दुई तिहाइले घटाएर आठ हजार २२१ युनिटमा सीमित गरिएको छ। कम्पनीले आपूर्ति सीमितताका कारण यस्तो निर्णय गर्नुपरेको बताएको छ। विद्युतीय सवारीका लागि आवश्यक पर्ने म्याग्नेटसहितका दुर्लभ खनिजहरू उच्च प्रविधि उपकरण निर्माणमा प्रयोग हुने भएकाले ती खनिजको अभावमा उत्पादन प्रभावित भएको हो।
‘ई-भिटारा’ सन् २०२४ को जनवरीमा भारतको अटो शोमार्फत सार्वजनिक गरिएको थियो। यो सवारीमार्फत मारुतीले विद्युतीय बजारमा सशक्त उपस्थिति जनाउने लक्ष्य लिएको थियो।
यो समस्याले कम्पनीको मातृ संस्था जापानी अटो निर्माता सुजुकी मोटर कर्पोरेशनलाई पनि असर पार्न सक्ने अनुमान गरिएको छ। भारत सुजुकीको सबैभन्दा ठूलो बजार मात्र नभई विद्युतीय सवारी उत्पादनको प्रमुख केन्द्र पनि हो। कम्पनीले भारतमा निर्माण गरिने अधिकांश ‘ई-भिटारा’ सवारीहरू युरोप र जापानजस्ता बजारमा निर्यात गर्ने योजना बनाएको थियो।
यद्यपि, कम्पनीका अध्यक्ष आरसी भार्गवले गत साता सञ्चारकर्मीहरूसँग बोल्दै पछिल्लो संकटले ई-भिटाराको उत्पादन वा सार्वजनिक गर्ने समयसीमामा तत्काल प्रभाव नपर्ने बताएका थिए।