अर्थमन्त्री पौडेललाई नाडा अटो शो २०२५ उद्घाटनका लागि आग्रह

काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आगामी भाद्र ३ गतेदेखि ८ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने १७ औँ नाडा अटो शो २०२५ को उद्घाटनका लागि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई औपचारिक रूपमा आग्रह गरेको छ ।

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले आइतबार अर्थमन्त्री पौडेलसँग भेट गरी उक्त आग्रह गरेको हो। भेटका क्रममा अध्यक्ष चौधरीले लामो समयपछि नेपालको अटोमोबाइल क्षेत्रसहित समग्र निजी क्षेत्रमैत्री बजेट आएकोमा सन्तोष व्यक्त गरे ।

छलफलकै क्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपालमा पहिलो पटक सिमरामा सवारी साधन उत्पादन उद्योग खोल्ने तयारी भइरहेको जानकारी गराउँदै त्यस्ता उद्योगलाई टेवा पुग्ने नीति ल्याउन, थप सुविधा उपलब्ध गराउन र नीतिमा स्थिरता कायम गर्न आग्रह गरे ।

छलफलको अन्त्यमा अर्थमन्त्री पौडेलले नाडाको आग्रहलाई सहर्ष स्वीकार गर्दै नेपालका अटोमोबाइल व्यवसायीहरूले धेरैभन्दा धेरै राजस्व उपलब्ध गराएर सरकारलाई सहयोग गर्नुपर्ने बताए ।

सो छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा एसोसिएसन सचिव सुरेन्द्र प्रधानको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै