काठमाडौँ । नेपाल राष्ट्र बैंकले गरेको विशेष अध्ययनअनुसार स्टार्टअप उद्यममा संलग्न उद्यमीहरूको उमेर न्यूनतम २१ वर्षदेखि अधिकतम ७० वर्षसम्म रहेको पाइएको छ। कोशी प्रदेश केन्द्रित स्टार्टअप उद्यमको प्रवृत्तिबारे गरिएको अध्ययनमा कुल लगानी दुई अर्ब ५६ करोड रुपैयाँ पुगेको उल्लेख छ, जसमा ३८.७ प्रतिशत ऋण र ६१.३ प्रतिशत स्वपुँजीको योगदान रहेको छ।
अध्ययनअनुसार ३६ देखि ५० वर्ष उमेर समूहका उद्यमीको हिस्सा सबैभन्दा बढी ४४.४ प्रतिशत छ भने २१ देखि ३५ वर्ष उमेर समूहका ३९.३ प्रतिशत र ५० देखि ७० वर्ष उमेर समूहका १६.४ प्रतिशत उद्यमी सक्रिय छन्। युवापुस्ताले विशेषगरी सूचना प्रविधिमा उच्च रुचि देखाएका छन्, जहाँ २१–३५ वर्ष उमेर समूहका ७३.३ प्रतिशत उद्यमी संलग्न छन् भने यही समूहको कृषि क्षेत्रमा संलग्नता सबैभन्दा कम २१.२ प्रतिशत मात्रै देखिएको छ।
३६ देखि ५० वर्ष उमेर समूहका उद्यमीहरू मुख्यत: कृषि क्षेत्रमा केन्द्रित देखिन्छन्, जबकि सूचना प्रविधिमा यस समूहको सहभागिता २६.७ प्रतिशत मात्र छ। यस्तै, ५० देखि ७० वर्ष उमेर समूहका उद्यमीमध्ये सबैभन्दा बढी २७.३ प्रतिशत पर्यटन क्षेत्रमा सक्रिय छन् भने सूचना प्रविधिमा यस उमेर समूहको सहभागिता शून्य रहेको अध्ययनले देखाएको छ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानमा स्टार्टअप कर्जाका लागि आवेदन दिई ‘सर्टलिस्ट’ भएका कोशी प्रदेशका १६० उद्यमलाई आधार मानी अध्ययन गरिएको हो। सहभागी उद्यममध्ये कृषि तथा वनजन्य क्षेत्र ४१.३ प्रतिशत, उत्पादनमूलक १८.१ प्रतिशत, सेवामूलक १७.५ प्रतिशत, पर्यटन १३.८ प्रतिशत र सूचना प्रविधि ९.४ प्रतिशत रहेका छन् ।