६०० स्टार्टअपले पाए ३ प्रतिशत ब्याजमा ८८ करोडभन्दा बढी ऋण

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८१/०८२ मा ६०० वटा स्टार्टअपलाई रु. ८८ करोड ६६ लाख २५ हजार रुपैयाँ सहुलियतपूर्ण ऋण प्रदान गरेको छ । यो ऋण ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८०’ अनुसार ३ प्रतिशत ब्याजदरमा उपलब्ध गराइएको हो ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले यस वर्ष १,३१४ वटा आवेदन प्राप्त गरेकोमा १,०७३ वटालाई छोटो सूची (Shortlist) मा राखेको थियो । त्यसपछि परियोजनाको प्रस्तुतीकरण र स्थलगत अध्ययनका आधारमा ६०० वटा स्टार्टअपलाई मात्रै ऋण प्रदान गरिएको प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताले बताए ।

सुरुमा ६६१ वटा परियोजना छनोटमा परे पनि केहीको कागजात अपुग देखिएको र केहीले प्रतिबद्धताअनुसार काम नगरेको भेटिएपछि ती परियोजनालाई सूचीबाट हटाइएको उनको भनाइ छ।

ऋण पाउन योग्य ठहरिएका परियोजनाहरूमध्ये अधिकांश कृषि, पोसाक, हस्तकला, गार्मेन्ट, फर्निचर, होमस्टे र प्रशोधन उद्योगजस्ता क्षेत्रमा छन्। छनोटमा परेका स्टार्टअपहरूले अब ४५ दिनभित्र सम्बन्धित बैंकमा गएर सम्पर्क गर्नुपर्नेछ।

सरकारले आर्थिक वर्ष २०८०/०८१ बाट सुरु गरेको यस किसिमको कर्जा पहिलो वर्ष १६५ वटा परियोजनाले पाएका थिए। ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८०’ अनुसार एक परियोजनालाई अधिकतम रु. २५ लाखसम्म ऋण प्रदान गर्न सकिन्छ। सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि स्टार्टअप कर्जाका लागि रु. १ अर्ब विनियोजन गरेको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै