
काठमाडाैँ । द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीको फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धनका लागि सहकार्य गर्ने सम्झौता भएको छ ।
ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेजका सह–संस्थापक तथा कार्यकारी निर्देशक महेन्द्रराज कँडेल र फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारबीच सम्झौतापत्रमा हस्ताक्षर भएकाे हाे । उक्त सम्झौतामा द ब्रिटिस कलेज इन्क्युबेसन सेन्टरका प्रमुख गणेश पौडेल र फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बराल पनि उपस्थित थिए ।
सम्झौता अनुसार, दुबै संस्थाले स्थानीय उद्यमीहरूका लागि स्टार्टअप इन्क्युबेसन तथा मार्गदर्शन कार्यक्रम सञ्चालन गर्नेछन् । साथै, डिजिटल साक्षरता, व्यापार र प्रविधिमा सीप विकास सम्बन्धी कार्यशालाहरू आयोजना गरिनेछ। कृषि प्रविधि, ग्रामीण पर्यटन र हस्तकला आधारित स्टार्टअपहरूमा समेत सहकार्य गर्ने योजना रहेको छ ।
त्यस्तै, स्मार्ट गाउँ तथा डिजिटल शासन प्रणालीको प्रवर्द्धन, उद्यमशीलता सम्बन्धी नीति निर्माणमा सहयोग, र ग्रामीण नवप्रवर्तकहरूलाई बजार तथा लगानी पहुँच विस्तारका लागि समेत दुबै संस्थाले मिलेर काम गर्नेछन् । सम्झौतापछि प्रतिक्रिया दिँदै द ब्रिटिस कलेजका कार्यकारी निर्देशक कँडेलले भने, “यो साझेदारी टीबीसीको ग्रासरुटमा आधारित नवप्रवर्तनप्रतिको प्रतिबद्धता हो । फिक्कलका युवा र किसानहरूको उद्यमशील सम्भावनालाई अनुसन्धान गरी बजार र प्रविधिसँग जोड्ने काममा हामी अघि बढ्नेछौँ ।”
फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारले यो समझदारीलाई समुदायका लागि रूपान्तरणकारी अवसरका रूपमा व्याख्या गर्दै भने, “टीबीसीसँगको सहकार्यले रोजगारी सिर्जना, सीप अभिवृद्धि र स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउनेछ ।”
टीबीसी इन्क्युबेसन सेन्टरका प्रमुख गणेश पौडेलले पनि नवप्रवर्तनलाई विकेन्द्रित गर्दै समावेशी आर्थिक अवसर सिर्जना गर्ने लक्ष्यमा यो साझेदारी महत्वपूर्ण हुने बताए । सम्झौता अनुसार, दुबै पक्षले संयुक्त रूपमा ‘स्टिरिङ कमिटी’ गठन गरी कार्यक्रमहरूको योजना, कार्यान्वयन र मूल्याङ्कन गर्नेछन् ।
प्रारम्भिक कार्यक्रमहरू साझा स्रोतको उपयोग गरी सुरु गरिनेछ भने दीर्घकालीन परियोजनाहरूका लागि बाह्य लगानी र सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गतको सहयोग खोजिने योजना रहेको छ ।