काठमाडौँ । लगानी बोर्ड नेपालले लगानीकर्ता सहजीकरण तथा गुनासो सुनुवाइ डेस्क स्थापना गरेको छ । एकल विन्दु सेवा केन्द्र सञ्चालनसम्बन्धी सेवा प्रवाहका लागि सुनुवाइ डेस्क स्थापना गरेको हो ।
लगानी बोर्डका सहसचिव हेमराज तामाङले लगानी बोर्डले डिजिटल रूपमा एकल विन्दु सेवा केन्द्र सञ्चालन गर्ने तयारी गरिरहेको र त्यसको प्रराम्भिक चरण अन्तर्गत लगानीकर्तालाई थप सहज वातवारण मिलाउन डेस्क स्थापना गरेको जानकारी दिए । तामाङका अनुसार डेस्कमार्फत लगानीकर्ताले लगानीसम्बन्धी जानकारी लिन, समस्या राख्न र गुनासो गर्न सक्नेछन् ।
लगानी बोर्डले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयसँगको समन्वयमा गुनासो सुनुवाइ डेस्क स्थापनापछि एकल विन्दु सेवा प्रवाहका लागि मन्त्रीपरिषदमा निर्णय प्रस्ताव पेस गर्ने, एकल विन्दु सेवा केन्द्र स्थापनाको तयारी गर्ने, सरकारी निकाय तथा विभागसँगको समन्वय गर्ने, एकल विन्दु सेवाको अनलाइन पोर्टल सञ्चालन गर्ने कार्यतालिका बनाएको छ ।
त्यसैगरी बोर्डले एकल विन्दु सेवासम्बन्धी कार्यविधिको मसौदा स्वीकृतका लागि पेस गर्ने, बजेट व्यवस्था सुनिश्चित गर्नेलगायतका कार्यतालिका बनाएको छ ।
२०८२ चैत १३ गतेको मन्त्रीपरिषद्को बैठकले स्वदेशी तथा वैदेशिक लगानीकर्तालाई एकीकृत रूपमा सहजताका साथ निर्धारित अवधिभित्रै तोकिएबमोजिमका सेवा उपलब्ध गराउनका निम्ति लगानी बोर्ड नेपाल अन्तर्गत एकद्वार प्रणाली स्थापना गरी सञ्चालन गर्ने निर्णय गरेको थियो ।