काठमाडाैँ । नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघ (एनडब्लुएफपीईए) को १७औँ वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ ।
बुधबार आयोजित उक्त कार्यक्रम होटल याक एन्ड यतिमा आयोजना गरिएको थियो, जहाँ संघका पदाधिकारी, उद्योगी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा संघका अध्यक्षले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ऊनी फेल्ट उद्योगको वर्तमान अवस्था, उपलब्धि र चुनौतीबारे जानकारी गराएका थिए ।
उनले नेपाली हस्तकलामध्ये ऊनी फेल्ट उत्पादनले अन्तर्राष्ट्रिय बजारमा छुट्टै पहिचान बनाउँदै गएको उल्लेख गर्दै निर्यात प्रवर्द्धनका लागि थप सहकार्य आवश्यक रहेको बताए। साधारण सभामा आर्थिक प्रतिवेदन, आगामी कार्ययोजना तथा बजेटसम्बन्धी विषयमा छलफल गरिएको थियो ।
सहभागीहरूले उत्पादन गुणस्तर सुधार, नयाँ बजार विस्तार तथा कच्चा पदार्थ व्यवस्थापनमा देखिएका समस्याहरू समाधान गर्न साझा पहल गर्नुपर्नेमा जोड दिएका थिए । उद्योगीहरूले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा बढ्दो प्रतिस्पर्धा, ढुवानी खर्च वृद्धि तथा नीतिगत जटिलताका कारण निर्यातमा चुनौती थपिएको बताएका छन्। यस्ता समस्याहरू समाधान गर्न सरकारसँग सहकार्य गर्दै नीतिगत सुधार आवश्यक रहेको उनीहरूको धारणा थियो ।
कार्यक्रममा नयाँ कार्यसमिति चयनका विषयमा पनि छलफल भएको थियो। संघले आगामी दिनमा उद्योगलाई थप सुदृढ बनाउने, रोजगार सिर्जना बढाउने तथा नेपाली उत्पादनलाई विश्व बजारमा अझ प्रतिस्पर्धी बनाउने लक्ष्य लिएको जनाएको छ ।
नेपालको ऊनी फेल्ट उद्योग विशेषगरी हस्तकलामा आधारित भएकाले ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्न महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। यस्तो अवस्थामा संघको वार्षिक साधारण सभाले उद्योगको दीगो विकासका लागि आवश्यक रणनीति तय गर्ने अपेक्षा गरिएको छ।