कैलाली । धनगढी उपमहानगरपालिका–५ तारानगरमा ‘किङ्ग हिल्स गार्मेन्ट’ सञ्चालनमा आएको छ । लामो समयदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार हरिष सिंह प्रपालाले करिब ४० लाख रुपैयाँ लगानीमा गार्मेन्ट उद्योग स्थापना गरेका हुन् ।
देश संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको बेला पनि सकारात्मक र उत्पादनमूलक काम गर्नुपर्छ भन्ने उद्देश्यले उद्योग सञ्चालनमा ल्याइएको सञ्चालक प्रपलाले बताए। उनका अनुसार उद्योगले मुख्य रूपमा विद्यालयलाई लक्षित गर्दै राष्ट्रिय पोशाक, विद्यालय पोशाक तथा अन्य गुणस्तरीय कपडाहरू उत्पादन गर्ने लक्ष्य राखेको छ ।
हाल उद्योगमा ३५ वटा मेसिन सञ्चालनमा रहेका छन् भने यसमार्फत २५ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिएको छ । विभिन्न समुदायका तथा रोजगारीको अभावमा रहेका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर काम दिइएको उनले जानकारी दिए ।
उद्योगको औपचारिक उद्घाटन कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्कर ओझा र सङ्घका पूर्व अध्यक्ष पुष्पराज कुँवरले संयुक्त रूपमा गरेका हुन् ।कार्यक्रममा बोल्दै अध्यक्ष ओझाले नयाँ उद्योग सञ्चालनमा आएकोमा खुसी व्यक्त गर्दै व्यवसायिक सफलताको शुभकामना दिए ।
उद्घाटन कार्यक्रममा स्थानीय उद्योगी–व्यवसायी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। उद्योग सञ्चालनसँगै स्थानीय स्तरमा गुणस्तरीय पोशाक उत्पादन बढ्नुका साथै थप रोजगारीका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ ।