चितवन । उद्योग वाणिज्य महासङ्घ, रत्ननगरको आयोजनामा शुक्रबारदेखि ‘रत्ननगर महोत्सव’ सुरु भएको छ । महोत्सवको नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले एक समारोहबीच उद्घाटन गरेका हुन् ।
उद्घाटन गर्दै उनले मेला महोत्सवले देशको अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्ने बताए । उनले भने, “मेला महोत्सव भनेको अर्थतन्त्रलाई चलायमान बनाउने महत्त्वपूर्ण माध्यम हुन् । यसले कला, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने छन् ।”
कार्यक्रममा रत्ननगर नगरपालिकाका उपप्रमुख यादव पाठक, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का जिल्ला अध्यक्ष कमलराज पाठक, उद्योग वाणिज्य सङ्घका अध्यक्ष चिरञ्जीवी सुवेदीलगायतले महोत्सवको सफलताको शुभकामना व्यक्त गरे ।
आगामी माघ ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा महको उत्पादन र बजारीकरणलाई प्राथमिकता दिइएको छ । महको उत्पादन र प्रवर्द्धनका लागि छुट्टै परिसर निर्माण गरिएको छ । आर्थिक विकास र कृषिलाई जोड दिइएको उक्त महोत्सवमा किसानद्वारा उत्पादित महको महत्व, त्यसबाट हुने फाइदा र बजारको सम्भावनाको विषयलाई प्राथमिकतामा राखिएको आयोजकले जनाएको छ ।
महोत्सवमा रामजानकी मन्दिरको आकृतिमा निर्मित प्रवेशद्वार, जनजाति समुदायको सुन्दर गाउँ, रोजगार मेला आकर्षक केन्द्रका रूपमा रहेका छन् । महोत्सवमा भजन, शङ्खध्वनि, महिला कबड्डी तथा अन्तरविद्यालयस्तरीय नृत्य प्रतियोगितासमेत आयोजना गरिनेछ । बाल उद्यानमा जलपरीसँगै बालबालिकालाई लक्षित गरी काश्मिर भ्याली निर्माण गरिएको छ ।
महोत्सवअन्तर्गत पुस २९ देखि माघ ४ गतेसम्म सौराहा चोकस्थित बसपार्कमा ‘छैटौँ रत्ननगर सांस्कृतिक खाना महोत्सव’ आयोजना गरिनेछ । हरेक दुई वर्षमा आयोजना हुने यस महोत्सव चार लाखभन्दा बढी दर्शकले अवलोकन गर्नुका साथै रु २५ करोडभन्दा बढीको कारोबार हुने आयोजकले जनाएको छ ।