काठमाडौँ । सरकारले छुर्पी निर्यात बढाउनका लागि त्यसको गुणस्तर मापदण्ड तोकेको छ । राजपत्रमा सूचना प्रकाशित गरी यी खाद्यवस्तुमा कायम हुनुपर्ने आवश्यक गुणस्तरका तत्वहरू र हुन नहुने हानिकारक चिजहरू उल्लेख गरेर मापदण्ड बनाइएको हो ।
छुर्पी अमेरिका लगायत देशमा ठूलो परिमाणमा निर्यात हुने गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालबाट ४ अर्ब ५१ करोड रुपियाँभन्दा धेरैको छुर्पी निर्यात भएको तथ्यांक छ । छुर्पी नेपालबाट धेरै निर्यात हुने वस्तुमा १३औं नम्बरमा पर्ने व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ ।
कृषि तथा पुशपन्छी विकास मन्त्रालयले तोकेको मापदण्डअनुसार छुर्पी स्वच्छ र सफा भई चारित्रिक स्वाद र बास्ना भएको हुनु पर्नेछ । साथै कुनै किसिमको जैविक तथा अजैविक अखाद्य पदार्थको उपस्थिति हुनु हुँदैन । अखाद्य रङ प्रयोग गर्न पाइने छैन ।
मन्त्रालयले ढुंगा, बालुवा, काँच (सिसा), प्लास्टिक वा सोको टुक्रा, माटो, धातुका टुक्रालगायतलाई अजैविक अखाद्य पदार्थ र कपालको रौं, भुस, चोकर, परालका टुक्रा, कपडाको टुक्रा, जिउँदो वा मरेको कीरा र मुसा वा सोको अंश, पशुपन्छी तथा वनस्पतिजन्य अन्य फोहोरलगायत जैविक अखाद्य पदार्थ भनेको छ ।
छुर्पीमा जीवनाशक विषादीको अवशेष, हेभी मेटल्स, सूक्ष्म जीवाणुहरू तथा टक्सिन्स जस्ता कन्टामिनेन्ट्सलगायत अन्य हानिकारक तत्वको अवशेष अधिकतम मात्रा मन्त्रालयले तोकेबमोजिम हुने भनिएको छ । छुर्पी उत्पादन, प्रशोधन, प्याकेजिङ, ह्यान्डलिङ, भण्डारण तथा ढुवानीमा स्वच्छतासम्बन्धी मापदण्ड पनि मन्त्रालयले तोकेबमोजिम हुने राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।
छुर्पीमा ई९कोली जस्ता सूक्ष्म जैविक मात्रा प्रतिग्राममा र साल्मोनेल्ला प्रति २५ ग्राममा अनुपस्थित हुनपर्नेछ । सूचनामा छुर्पीको प्याकेजिङ र लेबलिङसम्बन्धी मापदण्ड पनि तोकिएको छ । जसअनुसार छुर्पीलाई सफा र सुक्खा, खाद्य ग्रेडको प्याकेजिङ सामग्रीमा बन्द गरी प्याकेजिङ गर्न सकिनेछ ।
प्याकेजिङ गरिएको छुर्पीको लेबलमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा १९ अनुसारको विवरण (जस्तैः खाद्य पदार्थको नाम, उत्पादकको नाम र ठेगाना, खाद्य पदार्थको सम्मिश्रण, वस्तुको तौल वा आयतन, विक्री मूल्य, ब्याच नम्बर र उत्पादन मिति, निश्चित अवधिभित्र उपभोग गरिसक्नु पर्ने वस्तु भए त्यस्तो अवधि र तोकिएको खाद्य पदार्थमा पोषणको मात्रासम्बन्धी विवरण आदि) उल्लेख गरिनुपर्छ ।