काठमाडौँ । नेपाल निर्यात परिषद्ले कच्चा पदार्थ आयात गरेर गरिने भटमास र पाम आयलको निर्यातले देशको व्यापार घाटा दीर्घकालीन रूपमा समाधान नगर्ने बताएको छ । १०औँ निर्यात दिवसका अवसरमा आयोजित पत्रकार सम्मेलनमा परिषद्ले निर्यात व्यापारलाई दिगो बनाउन स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमा जोड दिनुपर्ने बताएको हो ।
परिषद्का अध्यक्ष नरेशलाल श्रेष्ठले कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा न्यून हुनु र आयातित कच्चा पदार्थमा आधारित वस्तुको निर्यातमा निर्भर हुनु अर्थतन्त्रका लागि जोखिमपूर्ण रहेको उल्लेख गरे ।
श्रेष्ठले नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा सोयाविन तेल, फलाम तथा फलामका उत्पादनहरु, यार्न, सूर्यमुखि तेल, ऊनी गलैँचा, तयारी पोशाक, जुट तथा जुटका सामानहरु, जुस, अलैंची, प्लाईउड, ऊनी फेल्टका उत्पादन, चिया, कुकुर बिरालाका आहारा, पिना, पश्मिना शल, कपडा, कत्या, पामतेल, चाऊचाऊ, सिमेन्ट प्रमुख रुपमा रहेको जानकारी दिए ।
निर्यातका मुख्य चुनौती र परिषद्को माग:
दिगो निर्यातको अभाव: भटमास र पाम तेल जस्ता वस्तुले निर्यातको ठुलो हिस्सा ओगटे पनि कच्चा पदार्थ बाहिरबाटै आउने भएकाले यसले स्वदेशी अर्थतन्त्रमा ठोस योगदान पुर्याउन नसकेको परिषद्को ठहर छ।
अनुदानमा रोक: गत आर्थिक वर्ष २०८१/८२ देखि निर्यातमा दिइँदै आएको नगद अनुदान रोकिएकाले त्यसलाई तत्काल निरन्तरता दिन व्यवसायीहरूले माग गरेका छन्।
उत्पादन लागत: ऊर्जा, कच्चा पदार्थ र ढुवानी लागत उच्च हुँदा नेपाली उत्पादनले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसकेको अध्यक्ष श्रेष्ठले बताए ।
पूर्वाधारको कमी: गुणस्तर कायम राख्न आवश्यक कोल्ड स्टोरेज, गोदाम र दक्ष जनशक्तिको अभावले निर्यात क्षेत्र पछाडि परेको महासचिव हरि ढकालले जानकारी दिए ।
सुझाव र भावी रणनीति: व्यवसायीहरूले वस्तु निर्यातको सट्टा श्रम शक्ति (युवा जनशक्ति) निर्यात भइरहेकोमा चिन्ता व्यक्त गर्दै कृषिजन्य उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिएका छन् । निर्यात क्षेत्रलाई राष्ट्रिय प्राथमिकतामा राखेर लगानीमैत्री वातावरण र नीतिगत स्थायित्व कायम गर्न सरकारसँग माग गरिएको छ ।
साना उद्यमीलाई सहुलियतपूर्ण कर्जा र निर्यातयोग्य नयाँ वस्तुहरूको पहिचान गरी विश्व बजारमा प्रवर्धन गर्नुपर्नेमा परिषद्ले जोड दिएको छ ।
नेपाल निर्यात परिषद् तथा व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रको लागत साझेदारीमा आयोजना गरिने निर्यात दिवस २०८२ को प्रमुख उद्देश्यहरू नेपालको आर्थिक विकासमा निर्यात क्षेत्रको महत्वबारे नीति निर्माता, निजी क्षेत्र र आम नागरिकमा चेतना अभिवृद्धि गर्ने, सरकार र सम्पूर्ण सरोकारवालाको ध्यानाकर्षण गर्ने, निर्यात प्रवद्र्धनमार्फत उत्पादनमुखी, रोजगारी सिर्जना तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा योगदान पुर्यायाउने, हस्तकला, कृषि, घरेलु तथा साना–मझौला उद्योगका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्दै नेपाली उत्पादनको पहिचानमा सुदृढ गर्ने, निर्यात व्यापारमा देखिएका नीतिगत, संरचनागत तथा व्यवहारिक समस्या, चुनौती र अवसरवारे सरोकारवालाबीच खुला संवाद र छलफलको वातावरण सिर्जना गर्र्नु रहेको छ ।