काठमाडौँ । आइटेल र टेक्नोको आधिकारिक बिक्रेता ‘महालक्ष्मी मोबाइल्स’ को व्यापारमा ५५ प्रतिशतको उछाल नेपालका लागि आइटेल (itel) र टेक्नो (Tecno) ब्रान्डको आधिकारिक बिक्रेता महालक्ष्मी मोबाइल्सको व्यापारमा उल्लेख्य सुधार देखिएको छ । सन् २०२४ को तुलनामा सन् २०२५ मा कम्पनीको व्यापार ५५.२८ प्रतिशतले वृद्धि भएको हो ।
व्यापारको तथ्याङ्क कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार, सन् २०२४ मा १ अर्ब ५८ करोड १० लाख रुपैयाँको व्यापार गरेकोमा सन् २०२५ मा यो बढेर २ अर्ब ४५ करोड ५० लाख रुपैयाँ पुगेको छ । यसअघि कम्पनीले सन् २०२३ मा २ अर्ब ९ करोड र सन् २०२२ मा ४ अर्ब २ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो ।
सन् २०२४ मा ओरालो लागेको व्यापार पुनः लयमा फर्किएको कम्पनीले जनाएको छ। गत आर्थिक वर्षमा बजारमा ल्याइएका नयाँ मोडलका मोबाइल फोनहरूका कारण व्यापार बढाउन मद्दत पुगेको तथ्याङ्कले देखाउँछ ।
बढ्यो व्यापार, घट्यो नाफा कम्पनीको व्यापार (Turnover) बढे पनि नाफाको मार्जिनमा भने गिरावट आएको छ। सन् २०२४ मा ५ प्रतिशत नाफा कमाएको कम्पनीले गत आवमा ४ प्रतिशत मात्र नाफा आर्जन गरेको छ । कम्पनीको खुद नाफा १ प्रतिशतभन्दा कम छ। यद्यपि, विगतका वर्षहरूमा बेहोर्दै आएको खुद घाटालाई भने कम्पनीले यस पटक कम गरेको छ ।
कम्पनीको संरचना र बजार पहुँच सन् २०१७ मा स्थापना भएको महालक्ष्मी मोबाइल्स अम्बे ग्रुपद्वारा सञ्चालित कम्पनी हो । कम्पनीले चिनियाँ मोबाइल कम्पनीहरूसँगको सहकार्यमा नेपालमा मोबाइल आयात र बिक्री गर्दै आएको छ । हाल देशभर कम्पनीका १२८ वटा आधिकारिक डिलरहरू सञ्चालनमा छन् ।
स्वामित्व र रेटिङ कम्पनीमा प्रकाशबहादुर स्वारको ५४.९५ प्रतिशत, शिवाज न्यौपानेको १८.३८ प्रतिशत, पूर्णभाद्र पौडेलको १४.४२ प्रतिशत र शोभाकर न्यौपानेको १२.२५ प्रतिशत शेयर स्वामित्व छ । कम्पनीको अध्यक्षता शोभाकर न्यौपानेले गरिरहेका छन्। हालै कम्पनीले अल्पकालीन कर्जा प्रयोजनका लागि ७८ करोड रुपैयाँको रेटिङ समेत गराएको छ ।