सर्वोत्तम स्टिलको व्यापार पौने २ अर्बले बढ्यो, एक वर्षमा २७% वृद्धि

काठमाडौँ । सौरभ ग्रुपद्वारा सञ्चालित सर्वोत्तम स्टिल प्रालिको व्यापार (कारोबार) एक वर्षको अवधिमा उल्लेख्य रूपमा बढेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा २६ प्रतिशतले वृद्धि भई पौने २ अर्ब रुपैयाँले बढेको हो ।

तथ्याङ्कअनुसार, कम्पनीले सन् २०२४ मा ६ अर्ब ८५ करोड ८० लाख रुपैयाँको व्यापार गरेकोमा सन् २०२५ मा बढेर ८ अर्ब ७२ करोड ६० लाख रुपैयाँ पुगेको छ । यो २७ प्रतिशतको आकर्षक वृद्धि हो ।

व्यापारको अवस्था

सन् २०२५ मा व्यापारमा ठूलो उछाल आए पनि, कम्पनीले सन् २०२२ मा गरेको ८ अर्ब ९३ करोड ४० लाख रुपैयाँ को व्यापार भने भेट्टाउन सकेको छैन ।

सन् २०२३ मा कम्पनीको व्यापार ७ अर्ब ७५ करोड ३० लाख रुपैयाँ रहेको थियो।

कम्पनीको व्यापार मुख्यगरी डण्डीमा निर्भर रहेको रेटिङ प्रतिवेदनमा उल्लेख छ। सन् २०२४ र २०२५ को कुल व्यापारमध्ये ९० प्रतिशत हिस्सा डण्डीको रहेको छ। बाँकी आम्दानी बिलेट र बाइन्डिङ वायरबाट भएको पाइएको छ।

वित्तीय स्थिरता र कर्जा रेटिङ

कम्पनीले गत आर्थिक वर्षमा २.१९ प्रतिशत खुद नाफा (Net Profit) कमाएको छ।

कम्पनीको कुल सञ्चय रकम (Accumulated Reserve) ४० करोड ९० लाख रुपैयाँ पुगेको छ, जुन सन् २०२४ मा १७ करोड ४० लाख रुपैयाँ मात्र थियो।

विष्णुप्रसाद न्यौपाने अध्यक्ष रहेको यस कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल ६ अर्ब ४४ करोड ४० लाख रुपैयाँ को रेटिङ गराएको छ ।

यसमध्ये दीर्घकालीन कर्जाका लागि १ अर्ब ३ करोड ४६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५ अर्ब ४१ करोड रुपैयाँको रेटिङ गराइएको छ ।

कम्पनीको पृष्ठभूमि

सन् २०१७ मा स्थापना भएको सर्वोत्तम स्टिल सन् २०२१ मा पब्लिक कम्पनीको रूपमा परिणत भएको थियो । कम्पनीले सन् २०२२ देखि डण्डी, बिलेट, र वायरको उत्पादन तथा व्यापार गर्दै आएको छ ।

हाल कम्पनीले ७ लाख ६४ हजार १६० मेट्रिक टन वार्षिक उत्पादन क्षमतामा उद्योग सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै