पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा ७५ अर्ब ५९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। पेट्रोलियम पदार्थ र सवारीसाधन आयातले राजस्व संकलनमा प्रमुख योगदान दिएको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार ५ प्रकारका पेट्रोलियम पदार्थको आयातबाट मात्रै २२ अर्ब ९० करोड रुपैयाँ राजस्व उठाइएको छ। त्यस्तै, यातायातका साधन तथा तिनका पार्टपुर्जाको आयातबाट १० अर्ब १० करोड राजस्व सङ्कलन भएको छ।
फलाम तथा फलामबाट बनेका सामग्रीबाट ४ अर्ब ५८ करोड, कपडाबाट ४ अर्ब २५ करोड तथा मेसिनरी तथा पार्टपुर्जाबाट ३ अर्ब १७ करोड राजस्व प्राप्त गरिएको छ। साथै, इलेक्ट्रिक मेसिनरी तथा उपकरणको आयातबाट थप ३ अर्ब ७ करोड संकलन भएको छ।
चालु आर्थिक वर्षको चार महिनामा वीरगञ्ज भन्सारमार्फत २ खर्ब ८४ अर्ब ८९ करोड रुपैयाँ बराबरका वस्तु आयात भएका छन्, जसले देशको समग्र राजस्व संरचना मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको कार्यालयले बताएको छ ।