काठमाडौँ । मुलुकको अर्थतन्त्र सुधार र समृद्धिका लागि निजी क्षेत्रका व्यवसायीहरू एकजुट हुने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, राष्ट्रिय व्यवसायी पहल लगायतका विभिन्न व्यावसायिक संस्थाका प्रतिनिधिहरूको संयुक्त छलफलले यस्तो साझा प्रतिबद्धता जनाएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय कार्यकारी सदस्य शिव प्रसाद घिमिरेको पहलमा भएको छलफलमा हालैको जेन-जी आन्दोलनले व्यवसायमा पारेको असर र त्यसको समाधानबारे विस्तृत कुराकानी भयो। व्यवसायीहरूले आन्दोलनका कारण व्यापारमा ठूलो क्षति पुगेको भन्दै राज्यले दृढतापूर्वक काम गरेमा समस्या समाधान गर्न सकिने धारणा राखे ।
छलफलका मुख्य निष्कर्ष:-
एकीकृत सहकार्य: अर्थतन्त्र सुधारका लागि निजी क्षेत्र अब एकताबद्ध भएर अघि बढ्ने।
युवाको सक्रियता: व्यावसायिक नीति निर्माणमा युवा पुस्ताको सहभागिता सुनिश्चित गर्ने।
पुनर्निर्माणमा सहयोग: मुलुकको पुनर्निर्माणमा सक्दो सहयोग गर्ने।
सुरक्षाको माग: आन्दोलनका क्रममा निजी क्षेत्रमाथि भएको आक्रमणले सुरक्षामा प्रश्न उठेको भन्दै यस्तो अवस्थाले बेरोजगारी बढाउन सक्ने चेतावनी दिइयो।
व्यवसायीहरूले अर्थतन्त्रको योगदानलाई अझ बढाउन निर्यात प्रवर्द्धन गर्ने, पर्यटन क्षेत्रको संरक्षण गर्ने, र नेपाललाई सुरक्षित गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय जगतमा चिनाउने आवश्यकता औँल्याए। छलफलको विस्तृत प्रतिवेदन तयार गरी छिट्टै सरकार र सम्बन्धित निकायहरूलाई बुझाइने निर्णय पनि गरिएको छ ।
उक्त कार्यक्रममा ३ सयभन्दा बढी व्यवसायीको सहभागिता थियो ।