वीरगञ्ज नाकाबाट भटमासको कच्चा तेल आयात ६१३% ले बढ्यो, निर्यात ५५ अर्ब

वीरगञ्ज । चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका हुँदै ५२ अर्ब ५८ करोड रुपैयाँ मूल्यको भटमासको कच्चा तेल आयात भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६१३.४१ प्रतिशत अर्थात् ४५ अर्ब २१ करोड रुपैयाँले बढी हो ।

गत आर्थिक वर्षको ११ महिनामा जम्मा ७ अर्ब ३७ करोड रुपैयाँ मूल्यको भटमासको कच्चा तेल आयात भएको थियो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आर्थिक वर्षमा यो नाका हुँदै भटमासको प्रशोधित तेल धेरै निर्यात भएको जानकारी दिए । “व्यवसायीले भटमासको कच्चा तेल ल्याएर प्रशोधित गरेर फेरि विदेशी मुलुकमा निर्यात गरेको देखिन्छ,” उनले भने।

प्रशोधित तेल निर्यातमा पनि उल्लेख्य वृद्धि

चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका हुँदै ५५ अर्ब तीन करोड रुपैयाँ मूल्य बराबरको २५ करोड ८८ लाख १४ हजार ७३२ लिटर भटमासको प्रशोधित तेल निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने जम्मा ८ करोड ८३ लाख रुपैयाँ मूल्य पर्ने चार लाख ६४ हजार १३८ लिटर मात्र निर्यात भएको थियो ।

यसैगरी, चालु आर्थिक वर्षको ११ महिनामा यो नाका हुँदै ९ अर्ब ७५ करोड रुपैयाँ मूल्यको सूर्यमुखी तेलको कच्चा पदार्थ आयात भएको छ । गत आर्थिक वर्षको सोही समयमा यो ८ अर्ब चार करोड रुपैयाँको थियो।

वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा ८ अर्ब ४० करोड रुपैयाँ मूल्यको ३ करोड ८८ लाख ९५ हजार ३३९ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । जबकी, गत आर्थिक वर्षको ११ महिनाको अवधिमा नौ करोड ९४ लाख रुपैयाँ मूल्यको पाँच लाख २७ हजार २९१ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै