
काठमाडाैँ । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो साढे ६ महिनामा करिब साढे ७ अर्ब रुपैयाँ (७ अर्ब ४१ करोड ७० लाख रुपैयाँ) को व्यापार गरेको छ। यो अवधि सन् २०२४ को मध्य जुलाई (असार मसान्त) देखि जनवरीको अन्त्य (माघ १५) सम्मको हो।
सन् २०२४ मा बुद्ध एयरको वार्षिक व्यापार १३ अर्ब २२ करोड ६० लाख रुपैयाँ पुगेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ९% बढी हो र कम्पनीको इतिहासकै उच्च व्यापार हो । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीको व्यापार १५% ले बढेको छ। हालै थप गरिएका नयाँ एयरक्राफ्टले पनि यस वृद्धिमा योगदान पुर्याएको छ ।
विगतका वर्षहरूमा बुद्ध एयरको व्यापार यस प्रकार रहेको थियो:
सन् २०२३: १२ अर्ब १६ करोड ९० लाख रुपैयाँ
सन् २०२२: १० अर्ब ९ करोड ८० लाख रुपैयाँ
सन् २०२१: ३ अर्ब ३३ करोड ६० लाख रुपैयाँ
कम्पनीको प्रोफाइल
सन् १९९६ मा आन्तरिक हवाई उडान सेवा सुरु गरेको बुद्ध एयर नेपालको सबैभन्दा पुरानो र ठूलो वायुसेवा कम्पनी हो। यसले आन्तरिक उडानका साथै भारतको कोलकातामा पनि सेवा दिँदै आएको छ।
बुद्ध एयरले हाल दुईवटा एटीआर ४२ र १६ वटा एटीआर ७२ एयरक्राफ्टसहित कुल १८ वटा जहाजबाट सेवा प्रदान गर्दै आएको छ । वीरेन्द्रबहादुर बस्नेत अध्यक्ष रहेको यो कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ३ अर्ब ८ करोड ९१ लाख रुपैयाँ (१ करोड ८७ लाख अमेरिकी डलर) को रेटिङ गराएको छ ।