
काठमाडौँ । गोल्छा समूहअन्तर्गतका दुई प्रमुख कम्पनी, हंसराज हुलासचन्द एण्ड कम्पनी र हुलास अटो क्राफ्ट प्रालिले चालू आर्थिक वर्षको पहिलो नौ महिनामा कूल १७ अर्ब ६८ करोड ७० लाख रुपैयाँको व्यापार गर्दै आफ्नो व्यवसायमा उल्लेख्य वृद्धि देखाएका छन्। यो वृद्धिले समूहको बजार विस्तार र सञ्चालन दक्षतालाई प्रतिबिम्बित गर्दछ।
हंसराज हुलासचन्द एण्ड कम्पनीको प्रगति
हंसराज हुलासचन्द एण्ड कम्पनीको व्यापार यस अवधिमा ११ अर्ब २२ करोड ६० लाख रुपैयाँ पुगेको छ। सन् १९५९ मा स्थापित यो कम्पनी विगत केही वर्षदेखि स्थिर व्यापारिक वृद्धि देखाउँदै आएको छ ।
यसले सन् २०२४ मा १० अर्ब ६७ करोड ४० लाख रुपैयाँ, सन् २०२३ मा १० अर्ब ७६ करोड ३० लाख रुपैयाँ, र सन् २०२२ मा २१ अर्ब ३३ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो। चालू वर्षको नौ महिनामै अघिल्ला वर्षहरूको वार्षिक कारोबारलाई पार गरिसकेकाले कम्पनीको प्रदर्शन सशक्त रहेको देखिन्छ।
यो कम्पनी बजाज ब्रान्डका दुई र तीन पांग्रे सवारी साधन र विभिन्न ब्रान्डका लुब्रिकेन्टहरूको नेपालमा आधिकारिक वितरकका रूपमा परिचित छ।
देशभर ३०० भन्दा बढी शाखा सञ्चालनमा रहेको यस कम्पनीमा १९ जना लगानीकर्ता छन्। अध्यक्ष शेखर गोल्छाको स्वामित्व ५३.८ प्रतिशत रहेको छ भने बाँकी १८ जना लगानीकर्ताको संयुक्त स्वामित्व लगभग ४ प्रतिशत छ । कम्पनीले हाल ४ अर्ब ९३ करोड रुपैयाँ बराबरको अल्पकालीन कर्जाको लागि रेटिङ गराएको छ ।
हुलास अटो क्राफ्टको प्रगति
हुलास अटो क्राफ्ट प्रालिले पनि यस आर्थिक वर्षको नौ महिनामा अघिल्लो वर्षको तुलनामा राम्रो प्रगति गरेको छ । कम्पनीले ६ अर्ब ४६ करोड १० लाख रुपैयाँको कारोबार गरेको छ, जबकि गत वर्ष यसको व्यापार ५ अर्ब १३ करोड २० लाख रुपैयाँ थियो। अघिल्ला वर्षहरूमा क्रमशः ५ अर्ब ६१ करोड ४० लाख (२०२३) र १० अर्ब ७४ करोड ६० लाख (२०२२) बराबरको व्यापार गरेको थियो।
यो कम्पनीले सन् २०१८ देखि दुई पांग्रे र सन् २०१९ देखि तीन पांग्रे सवारी साधनको एसेम्बल प्रक्रिया नेपालमै सुरु गरेको हो। हंसराज हुलासचन्दको सहायक कम्पनीका रूपमा स्थापित हुलास अटो क्राफ्टको स्वामित्वमा शेखर गोल्छाको ८० प्रतिशत र आकाश गोल्छाको २० प्रतिशत हिस्सेदारी छ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाको लागि २ अर्ब २१ करोड ४० लाख रुपैयाँको रेटिङ गराएको छ। जसमा दीर्घकालीन कर्जा २९ करोड २० लाख रुपैयाँ र अल्पकालीन कर्जा १ अर्ब ९२ करोड २० लाख रुपैयाँ रहेको उल्लेख गरिएको छ।
गोल्छा समूहको यी दुई कम्पनीको व्यापार वृद्धिले नेपालको सवारी साधन बजारमा उनीहरूको बलियो पकड र स्थानीय एसेम्बलिङमा लगानीको सफलतालाई दर्शाउँछ ।