
पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा पाँच खर्ब ६५ अर्ब ४५ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान आयात भएका छन्। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.४४ प्रतिशत अर्थात् ७१ अर्ब ३६ करोड रुपैयाँ बढी हो।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार, यस अवधिमा सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको छ, जसको कुल मूल्य एक खर्ब ७४ अर्ब नौ करोड रुपैयाँ रहेको छ। त्यसैगरी, दोस्रो धेरै आयात हुने वस्तुमा भटमासको कच्चा तेल रहेको छ, जसको हिस्सा ५२ अर्ब ५८ करोड रुपैयाँ छ। मेसिनरी तथा पार्टपुर्जा ३३ अर्ब १९ करोड र फलाम तथा फलामजन्य सामान ३१ अर्ब ३९ करोड रुपैयाँ बराबरको आयात भएको छ। यस्तै, २६ अर्ब २३ लाख रुपैयाँ बराबरका एलोपेथिक औषधि भित्रिएका छन्।
निर्यातमा उल्लेख्य वृद्धि
चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाकाबाट हुने निर्यातमा पनि उल्लेख्य वृद्धि देखिएको छ । यस अवधिमा ९१ अर्ब ५१ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएका छन्। यो गत आर्थिक वर्षको सोही अवधिको २८ अर्ब ४४ करोड रुपैयाँको निर्यातभन्दा २२१.७७ प्रतिशत अर्थात् ६३ अर्ब सात करोड रुपैयाँले बढी हो।
निर्यात हुने वस्तुहरूमा प्रशोधित भटमासको तेल प्रमुख रहेको छ। चालु आवको ११ महिनामा ५५ अर्ब तीन करोड रुपैयाँ मूल्य बराबरको २५ करोड ८८ लाख १४ हजार ७३२ लिटर प्रशोधित भटमासको तेल निर्यात भएको छ। गत वर्षको सोही अवधिमा भने जम्मा आठ करोड ८३ लाख रुपैयाँ बराबरको चार लाख ६४ हजार १३८ लिटर मात्र निर्यात भएको थियो।
यसैगरी, आठ अर्ब ४० करोड रुपैयाँ मूल्य बराबरको तीन करोड ८८ लाख ९५ हजार ३३९ लिटर सूर्यमुखीको प्रशोधित तेल पनि यस अवधिमा निर्यात भएको छ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आर्थिक वर्षको ११ महिनामा आयात र निर्यात दुवै सन्तोषजनक रहेको बताएका छन्। उनले बजेटले उत्साह जगाएकोले यस्तो सम्भव भएको समेत उल्लेख गरे ।