अन्तर्राष्ट्रिय पर्यटनतर्फ सोल्टीको छलाङ,नेपालको पर्यटन ब्रान्डिङमा नयाँ अध्याय

‘मेरिअट’ ब्रान्डको ‘अटोग्राफ कलेक्सन’ सोल्टी होटलमा, दक्षिण एसियामै पहिलो प्रवेश

काठमाडौँ । नेपालकै पहिलो पाँचतारे होटल सोल्टीमा अब विश्वप्रसिद्ध होटल चेन मेरिअटको ‘अटोग्राफ कलेक्सन’ ब्रान्ड प्रवेश गरेको छ। यो ब्रान्ड सोल्टीमार्फत दक्षिण एसियामा पहिलोपटक भित्रिएको हो । अब होटल सोल्टी नयाँ नाममा—‘द सोल्टी काठमाडौं, अटोग्राफ कलेक्सन’—का रूपमा परिचित हुनेछ ।

मेरिअट इन्टरनेसनलको अटोग्राफ कलेक्सन उच्च श्रेणीका यात्रुहरूका लागि लक्षित विशिष्ट ब्रान्ड हो, जसले स्थानीय शैली र मौलिकताको अनुभव दिँदै उच्च स्तरको अतिथि सेवा प्रदान गर्छ।

होटल सोल्टीका उपाध्यक्ष सुदर्शन चापागाईंका अनुसार यो साझेदारी ‘लोयल्टी प्रोग्राम’ र ‘डिस्ट्रिब्युसन च्यानल’को रुपमा पनि काम गर्नेछ, जसले सोल्टीलाई अन्तर्राष्ट्रिय स्तरमा अझै फैलन मद्दत पुर्‍याउनेछ।

“अब अटोग्राफ कलेक्सनमार्फत विश्वभरका हाई-एन्ड पर्यटकहरू सोल्टी बुक गर्नेछन्,” चापागाईंले भने, “यो सोल्टीको अन्तर्राष्ट्रिय पहिचानको लागि ठूलो उपलब्धि हो ।” होटल सोल्टीको व्यवस्थापनमा भने कुनै परिवर्तन नहुने स्पष्ट पारिएको छ । सबै सञ्चालन सोल्टी टिमले नै गर्नेछ ।

मेरिअट इन्टरनेसनलकी दक्षिण एसियाकी क्षेत्रीय उपाध्यक्ष रञ्जु एलेक्सले सोल्टीमार्फत नेपालमा प्रवेश गर्न पाउनु गौरवको विषय भएको बताइन्। “काठमाडौंको सांस्कृतिक सम्पदा र लिगेसी बोकेको होटल सोल्टीमा अटोग्राफ कलेक्सन ल्याउन पाउनु विशेष उपलब्धि हो,” उनले भनिन् ।

५९ वर्षअघि स्थापना भएको सोल्टी होटलमा अहिले सुइटसहित २८५ कोठा रहेका छन् । होटलका महाप्रबन्धक अभिनाश देशमुखले यो साझेदारीले नेपालको पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै