
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले छिमेकी मुलुकले नेपालमा उद्योग सञ्चालन हुन नदिन विभिन्न प्रपञ्च र प्रलोभन प्रयोग गर्ने गरेको आरोप लगाएका छन्।
शनिबार काठमाडौँमा आयोजित एकीकृत समाजवादी युवा जिल्ला कमिटीको प्रथम अधिवेशनमा बोल्दै महासचिव भुसालले प्रधानमन्त्री, अर्थमन्त्रीदेखि सांसदहरूलाई समेत प्रभावमा पारेर उद्योग विकासमा अवरोध पु-याइँदै आएको दाबी गरे।
भुसालले भने, “उद्योगले राम्रो गर्यो भन्ने कुरा पनि झुक्किएर भएको हो। त्यो पनि दुई–तीन वर्ष टिक्छ, त्यसपछि डुब्ने सम्भावना उच्च हुन्छ। कारण, हाम्रो अर्थतन्त्रको चरित्र नै दलाल पुँजीवादी छ।”
उनका अनुसार दलाल पुँजीवाद भन्नाले देशभित्र उद्योग खोल्नुको सट्टा बाहिरबाट सामान आयात गरी नाफा कमाउने प्रवृत्ति हो। उनले उद्योगलाई हतोत्साहित गर्न भारतले कच्चा पदार्थमा बढी भन्सार लगाउने, तर त्यही उत्पादन सामग्रीमा कम भन्सार लाउने नीतिहरू अवलम्बन गर्दै आएको बताए।
“जस्तो, फलफूल ल्याउँदा बढी भन्सार, तर जुस ल्याउँदा कम भन्सार लाग्छ,” भुसालले भने, “यसरी उद्योग सञ्चालन असम्भवजस्तै भएको छ।”
भुसालले रोजगारीको संकट र कृषिको अवस्थितिप्रति पनि चिन्ता व्यक्त गर्दै भने, “नेपालमा बिउ राम्रो छैन, समयमा पानी पर्दैन, प्रविधि छैन, जेटिए छैन। उत्पादन भइहाले पनि बजार छैन।”
उनले उद्योग स्थापना र रोजगारी सिर्जना एकीकृत समाजवादीको मुख्य एजेन्डा रहेको उल्लेख गरे।