जलविद्युत् क्षेत्रमा १३ खर्बभन्दा बढी लगानी भइसकेको छ: अध्यक्ष कार्की

काठमाडौँ ।  स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल (इप्पान) को २६औँ वार्षिकोत्सव सम्पन्न भएको छ। सोही अवसरमा आयोजित समारोहमा इप्पानका अध्यक्ष गणेश कार्कीले हालसम्म जलविद्युत क्षेत्रमा १३ खर्ब १० अर्ब रुपैयाँ बराबरको लगानी भइसकेको बताएका छन् ।

अध्यक्ष कार्कीले जलविद्युत क्षेत्रमा जनताको व्यापक लगानी रहेको उल्लेख गर्दै करिब १ करोड १३ लाख नेपालीले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यस क्षेत्रमा लगानी गरिसकेको बताए । सरकारले अघि सारेको २८ हजार ५०० मेगावाट उत्पादन गर्ने ऊर्जा मार्गचित्र स्वागतयोग्य रहेको भन्दै आन्तरिक खपतका लागि १३ हजार ५०० मेगावाट र छिमेकी मुलुकमा १५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य सकारात्मक रहेको उनको धारणा थियो ।

कार्कीले नेपालमा जलविद्युत विकासमा निजी क्षेत्रको योगदान अत्यन्तै सराहनीय रहेको बताएका छन् । निजी क्षेत्रको सक्रिय सहभागिता नभएको भए मुलुक अझै लोडसेडिङको चपेटामा पर्ने अवस्था रहेको उनको भनाइ छ ।

समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति रामसहाय यादवले वार्षिकोत्सवलाई भविष्यको संकल्पका रूपमा लिँदै ऊर्जामा आत्मनिर्भर, हरित र समृद्ध नेपाल निर्माणका लागि सरकार सधैँ सहकार्यमा रहने प्रतिबद्धता व्यक्त गरे। उनले नेपाल जलविद्युत तथा नवीकरणीय ऊर्जामा धनी राष्ट्र भएकाले यस अमूल्य स्रोतको सदुपयोग गरी ऊर्जा आयातमा परनिर्भरता घटाउनुपर्नेमा जोड दिए । त्यस्तै ऊर्जा आत्मनिर्भरता आर्थिक स्वतन्त्रता र राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय भएको भन्दै उनले पर्याप्त ऊर्जा बिना विकास सम्भव नहुने स्पष्ट पारे।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री अनिल कुमार सिन्हाले निजी क्षेत्रको सक्रियताले नेपाललाई लोडसेडिङमुक्त बनाउँदै विद्युत निर्यात गर्ने अवस्थामा पुर्‍याएको बताए। हाल नेपालको कुल विद्युत उत्पादन करिब ४ हजार मेगावाट पुगेको र यसमध्ये ३३०० मेगावाटभन्दा बढी निजी क्षेत्रको योगदान रहेको उल्लेख गर्दै उनले यसलाई गर्वको विषय भएको बताए।

मन्त्री सिन्हाका अनुसार ५–१० मेगावाटका साना आयोजनाबाट सुरु भएको निजी क्षेत्रको यात्रा आज १०० मेगावाटभन्दा ठूला आयोजनासम्म पुगेको छ । ऊर्जा क्षेत्रको विकासले शिक्षा, स्वास्थ्य र स्थानीय विकासमा पनि ठूलो सहयोग पुगेको भन्दै उनले सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य लिएको जानकारी दिए । उनले भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने सम्झौता भइसकेको र बंगलादेशमा पनि निर्यात प्रक्रिया अगाडि बढेको बताए । तर कानुनी तथा नीतिगत सुधार, विद्युत खरिद सम्झौता, प्रसारण लाइन विस्तार, वन तथा जग्गा प्राप्तिका जटिलताजस्ता चुनौती अझै कायम रहेको उनले स्वीकार गरे ।

नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष दिपक मल्होत्राले नेपालमा बढ्दो जलविद्युत् उत्पादनको उचित उपयोगका लागि स्वदेशमै विद्युत् खपत बढाउनुपर्नेमा जोड दिएका छन्।

कार्यक्रममा अध्यक्ष मल्होत्राले जलविद्युत् क्षेत्र नेपाली अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्नुपर्ने उल्लेख गर्दै विद्युत् खपतमार्फत तीव्र आर्थिक वृद्धि हासिल गर्न सकिने धारणा राखे। रकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको सन्दर्भमा खर्बौँ लगानी आवश्यक पर्ने र त्यसका लागि विदेशी लगानी पनि अपरिहार्य हुने उनको भनाइ थियो । उनले सार्वजनिक–निजी साझेदारी मोडेलमार्फत विदेशी लगानी आकर्षित गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै