
पिक डिमान्ड १,६५० मे.वा. रेकर्ड, गत वर्षभन्दा ४८ मे.वा. बढी
काठमाडौँ । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमान्ड) एक हजार ६५० मेगावाट रेकर्ड गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले दिएको जानकारीअनुसार, लक्ष्मीपूजाको दिन (आइतबार) साँझ ६:५० बजे पिक डिमान्ड एक हजार ६५० मेगावाट रेकर्ड गरिएको थियो ।
गत वर्षको तुलना:-
गत वर्षको १६ कात्तिकमा परेको लक्ष्मीपूजाको दिन पिक डिमान्ड एक हजार ६०२ मेगावाट रेकर्ड गरिएको थियो । यसवर्षको पिक डिमान्ड गत वर्षको भन्दा ४८ मेगावाट बढी हो ।
तिहारमा उद्योग, कलकारखानाहरू बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमान्ड औद्योगिक ग्राहकबाहेकको भएको प्राधिकरणको भनाइ छ । लक्ष्मीपूजाको दिनको पिकको विद्युत् मागलाई देशभित्रैका विद्युतगृहहरूबाट उत्पादन गरी आपूर्ति गरिएको थियो ।
निर्यातमा रेकर्ड :-
देशभित्रको विद्युत् मागलाई पूरा गरी बढी भएको १ हजार १५ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात गरिएको छ । गत वर्ष लक्ष्मीपूजाको पिक समयमा २५३ मेगावाट मात्र निर्यात गरिएको थियो ।
लक्ष्मीपूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युत्को माग २ हजार ६६५ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष प्रणालीको पिक डिमान्ड एक हजार ८५५ मेगावाट थियो ।
यस वर्ष लक्ष्मीपूजाको दिन काठमाडौँ उपत्यकाको पिक डिमान्ड १६५० मेगावाट रेकर्ड गरिएको छ। गत वर्ष यो ३९० मेगावाट थियो ।