
प्राधिकरण यस वर्ष पनि लोडसेडिङमुक्त, २०७३ सालमा उनैले यही दिनबाट अन्त्यको थालनी गरेको स्मरण
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले लक्ष्मीपूजाको दिन विद्युत् माग र आपूर्ति व्यवस्थापनको प्रत्यक्ष जानकारी लिन सोमबार साँझ नेपाल विद्युत प्राधिकरणको स्यूचाटारस्थित प्रेषण केन्द्रको नियन्त्रण कक्षको भ्रमण गरेका छन् ।
उनीसँगै ऊर्जा, जलस्रोत मन्त्रालयका सचिव चिरञ्जीवी चटौत, विद्युत नियमन आयोगका अध्यक्ष रामप्रसाद धिताल, मन्त्रालयका सहसचिवहरू, विद्युत विकास विभागका महानिर्देशक, प्राधिकरणका कार्यकारी निर्देशक र उपकार्यकारी निर्देशकहरू सम्मिलित टोलीले विद्युत् र आपूर्ति अवस्थाका बारेमा जानकारी लिएको थियो ।
प्राधिकरणले विगत वर्षमा झैँ यस वर्ष पनि लक्ष्मीपूजाका दिन मुलुकभर विनाअवरोध विद्युत् आपूर्ति गर्न सफल भएको छ । प्राधिकरणले विद्युत् अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र र विद्युत गृहका प्रमुखहरू र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो ।
स्मरण रहोस्, २०७३ सालको भदौमा कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङ नेतृत्वको टोलीले विद्युत् माग र आपूर्तिको व्यवस्थापन गरी सोही वर्षको लक्ष्मीपूजाको दिनबाट परीक्षणका रूपमा काठमाडौं उपत्यकाबाट लोडसेडिङ अन्त्यको सुरुवात गरेको थियो ।