
६० मेगावाटको खिम्ती आयोजना सञ्चालक हिमाल पावरको बहुमत शेयर पनि खरिद गर्ने
काठमाडौँ । जलविद्युत क्षेत्रको अग्रणी कम्पनी बुटवल पावर कम्पनी लिमिटेडले काबेली इनर्जी लिमिटेडमा रहेको आफ्नो सम्पूर्ण शेयर अरुण काबेली पावर लिमिटेडलाई बिक्री गर्ने भएको छ ।
कम्पनीले यससम्बन्धी प्रस्ताव पारित गर्नका लागि कार्तिक २१ गते विशेष साधारण सभा (एसजीएम) आह्वान गरेको छ। उक्त सभा प्रयोजनका लागि कम्पनीले कार्तिक १३ गते बुक क्लोज गर्ने निर्णय पनि गरेको छ ।
हिमाल पावरको बहुमत शेयर खरिद गर्ने प्रस्ताव:-
बुटवल पावरले काबेलीको शेयर बिक्री गर्ने निर्णयसँगै अर्को महत्त्वपूर्ण रणनीतिक कदम चाल्दै हिमाल पावर लिमिटेडको बहुमत शेयर खरिद गर्ने प्रस्ताव पनि विशेष साधारण सभामा पेश गर्ने भएको छ ।
कम्पनीको असोज ९ गते बसेको सञ्चालक समितिको बैठकले हिमाल पावरको बहुमत शेयर खरिद गर्ने निर्णय गरेको थियो । हिमाल पावरले हाल ६० मेगावाटको खिम्ती प्रथम जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।
बुटवल पावरले हिमाल पावरको कुल १ करोड ७६ लाख ४१ हजार ४ सय ३९ कित्ता शेयरमध्ये दुई विदेशी कम्पनीका नाममा रहेको १ करोड ४६ लाख २ हजार ७ सय ८७ कित्ता (१,०८,१७६ + ४५,९४,६११) शेयर खरिद गर्ने भएको हो। कम्पनीले खरिद गर्ने शेयरहरू निम्न हुन्:
Statkraft Holding Singapore Pte. Ltd., Singapore को नाममा रहेको १ करोड ८ हजार १ सय ७६ कित्ता शेयर।
Eviny AS, Norway को नाममा रहेको ४५ लाख ९४ हजार ६ सय ११ कित्ता शेयर।
यी खरिद र बिक्रीका दुवै महत्त्वपूर्ण प्रस्तावहरूलाई विशेष साधारण सभाले अनुमोदन गरेपछि कम्पनीको लगानी संरचनामा ठूलो फेरबदल आउनेछ ।