जलविद्युत आयोजनाको विद्युत् खरिदमा पनि प्रतिस्पर्धी दर लागू गरौँः ऊर्जामन्त्री कुलमान घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) का लागि प्रतिस्पर्धी आधार दर तय गर्न विद्युत नियमन आयोगलाई आग्रह गरेका छन् ।

आयोगको गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन बुधबार बुझ्दै मन्त्री घिसिङले जलविद्युत आयोजनाबाट उत्पादित ऊर्जालाई थप सर्वसुलभ, प्रतिस्पर्धी र पारदर्शी बनाउन प्रतिस्पर्धी आधार दर तय गर्नुपर्ने आवश्यकता औंल्याए । आयोगका अध्यक्ष रामप्रसाद धितालले प्रतिवेदन मन्त्री घिसिङ समक्ष पेस गरेका थिए ।

आयोगका पदाधिकारीलाई निर्देशन दिँदै मन्त्री घिसिङले भने, ‘सौर्य ऊर्जाको हाल प्रतिस्पर्धी आधार दर रहेको छ, जसले पीपीएलाई प्रतिस्पर्धी र पारदर्शी बनाएको छ । त्यसैगरी जलविद्युत आयोजनाको पीपीएको वास्तविक मूल्य तय गर्न, प्रक्रियालाई स्तरीय बनाएर पीपीए प्रतिस्पर्धाबाट गर्न आधार दर तय गर्ने र बोलपत्रसम्बन्धी कागजात तयार गर्नुहोस् ।’

वर्तमान अवस्था

नेपाल विद्युत प्राधिकरणले हाल सौर्य ऊर्जा प्रतिस्पर्धाबाट खरिद गर्दै आएको छ । त्यसका लागि प्रतिस्पर्धाको अधिकतम आधार दर प्रति युनिट रु. ५.९४ (पाँच रुपैयाँ चौरानब्बे पैसा) रहेको छ । जलविद्युत आयोजनाको पीपीए दर भने वर्षा र हिउँदयामका लागि प्रतियुनिट क्रमशः रु. ४.८० र रु. ८.४० रहेको छ ।

नियमनकारी निकायले गर्ने कामलाई प्रभावकारी बनाउन आयोगका पदाधिकारीलाई निर्देशन दिँदै मन्त्री घिसिङले निजी क्षेत्रलाई प्रवर्द्धन एवम् प्रोत्साहन र प्राधिकरणलाई दिगो बनाउने गरी आफ्ना क्रियाकलापमा केन्द्रित हुन आग्रह गरे ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै