
काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का उपमहासचिव प्रकाश दुलालले धितोपत्र बोर्डका अध्यक्षलाई तत्काल बर्खास्त गर्नुपर्ने बताएका छन् । उनले आज (बुधबार) एक सेयर निष्कासन तथा व्यवस्थापनबारेको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् ।
उपमहासचिव दुलालले भने, ‘अध्यक्षको नाममा कमिसन मागियो भनेर हामीले सार्वजनिक गर्दा नै बोर्ड अध्यक्षले राजीनामा दिनुपर्थ्यो । तर उहाँ कमिसन उठाउन पाइन्छ भनेर बसिरहनुभएको छ । नयाँ सरकारले बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई तत्काल बर्खास्त गर्नुपर्छ ।’
शेयर निष्कासनमा ढिलाई हुँदा विगत २८ महिनादेखि जलविद्युत कम्पनीको आईपीओ र राइट सेयर निष्कासन नियमित हुन सकेको छैन ।
इप्पानका अनुसार हालसम्म ९७५ मेगावाट क्षमताका ४३ कम्पनीको आईपीओ र ७ कम्पनीको राइट शेयर गरी कुल ५० कम्पनीको करिब २३ अर्ब २७ करोड ८ लाख बराबरको धितोपत्र निष्कासन हुन सकेको छैन ।
समयमै शेयर जारी नहुँदा ब्याज रकम वृद्धि, लागत वृद्धि र राजस्व आम्दानी गुमेको कारण ऊर्जा क्षेत्रले करिब रु. १ खर्ब ८ अर्ब ५० करोड रुपैयाँ गुमाएको इप्पानको भनाई छ ।
यसका साथै कानुनमा कतै उल्लेख नभएको ‘रियल नेटवर्थ’ ९० भन्दा माथि हुनुपर्ने कारण देखाएर रिचेत, बेनी, युनिक्यू, याम्बलिङ, लाफिङबुद्ध र पुवा खोला लगायतका कम्पनीको आईपीओ आवेदनबाटै हटाइएको इप्पानले आरोप लगाएको छ ।
यो पनि…
इप्पानको चेतावनी : २८ महिनादेखि रोकिएको आईपीओ र हकप्रद शेयर तत्काल जारी नगरे कडा आन्दोलन