काठमाडौँ । राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का तत्काल नतोडिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आइतबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा यस्तो जानकारी दिएका हुन् ।
मन्त्री खड्काका अनुसार, आयोजनामा ३१ महिना काम भइसकेको र करिब २ वर्षको समय बाँकी रहेको छ । ठेक्का सम्झौता अहिले नै तोड्दा सरकारलाई नै आर्थिक नोक्सान हुने अवस्था रहेकाले एक पटकलाई मौका दिएर काम अगाडि बढाउने निर्णय गरिएको उनले बताए ।
यदि काममा प्रगति नभएमा ठेक्का तोड्न सरकार सधैँ स्वतन्त्र रहने मन्त्री खड्काको भनाइ छ । आयोजना हाल निमित्त प्रमुखको भरमा सञ्चालन भए पनि सरकारले छिट्टै सहसचिव तहको कर्मचारी पठाउने जानकारी पनि उनले दिए ।
आयोजनाको काममा ढिलाइ हुनुमा ठेकेदार पक्षसँग आर्थिक अभावको समस्या रहेको मन्त्री खड्काले उल्लेख गरे । ठेकेदारले बाढीको बिमा नपाएको, भएको पैसा विभिन्न शीर्षकमा खर्च भएको, र पुलहरू बगाउँदा सामग्री ढुवानीमा समस्या भएको गुनासो गरेको पनि उनले बताए । नदीले फाउन्डेसन बगाएको र पुनः तयार भइसकेको अवस्था रहेको जानकारी पनि बैठकमा दिइएको थियो।