माथिल्लो मैवा जलविद्युत आयोजनामा एनएमबि बैंकको ऋण लगानी सुनिश्चित

काठमाडौँ । ताप्लेजुङको मैवाखोला र मेरिङदेन गाउँपालिकामा निर्माण हुन लागेको १७.८५ मेगावाट क्षमताको माथिल्लो मैवा खोला जलविद्युत आयोजनामा एनएमबि बैंक लिमिटेडले ऋण लगानी गर्ने भएको छ । यस सम्बन्धमा एनएमबि बैंक लिमिटेड र काङ हाइड्रोपावर कम्पनी लिमिटेडबीच वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न भएको छ ।

एनएमबि बैंकको तर्फबाट चिफ, सस्टेनेबल ईनर्जी बैंकिङ्गका दिनेश दुलाल र काङ हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक गणेशप्रसाद सुब्बाले ऋण सम्झौतामा हस्ताक्षर गरेका छन्। हस्ताक्षर कार्यक्रमपछि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द घिमिरे र कम्पनीका प्रबन्ध निर्देशक सुब्बाले सम्झौतापत्र आदानप्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै एनएमबि बैंकका सीईओ घिमिरेले आयोजनालाई तोकिएको लागत र समयसीमाभित्रै सम्पन्न गर्न तथा निर्माणका क्रममा प्राविधिक, वातावरणीय र सामाजिक पक्षको उचित व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गरे । उनले आयोजनाको दीर्घकालीन स्थायित्वका लागि यी पक्षहरूमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

यस अवसरमा काङ हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक सुब्बाले आयोजनाको समयमै सम्पन्नता सुनिश्चित गर्ने प्रतिबद्धता जनाउँदै एनएमबि बैंकलाई धन्यवाद व्यक्त गरे ।

एनएमबि बैंकले हालसम्म ५० भन्दा बढी जलविद्युत आयोजनाहरूमा लगानी गरिसकेको छ। बैंकले नेपाल राष्ट्र बैंकले जारी गरेको Environmental and Social Risk Management, 2022 को निर्देशनअनुसार आफ्नो वातावरणीय तथा सामाजिक नीति तयार पारेको छ। सोही नीतिअनुसार बैंकले वातावरणीय तथा सामाजिक व्यवस्थापन प्रणाली लागू गरी जलविद्युत आयोजना सञ्चालनका क्रममा हुने सम्भावित असरहरूको समुचित व्यवस्थापन गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै