काठमाडौँ । सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने प्रक्रियामा रहेको ‘टोकन प्रणाली’ खारेज गर्दै आवेदन दिएकै दिन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहको उपस्थितिमा आइतबार बसेको बैठकले सेवाग्राहीको चाप र झन्झट कम गर्न यस्तो निर्णय गरेको हो।
बैठकका मुख्य निर्णयहरू:
द्रुत श्रम स्वीकृति: अब वैदेशिक रोजगारीमा जाने श्रमिकले हप्तौं कुर्नुपर्ने छैन; आवेदन दिएकै दिन श्रम स्वीकृति जारी गरिनेछ।
डिजिटल अभिमुखीकरण: पूर्व–प्रस्थान अभिमुखीकरण तालिम (Orientation) लाई पूर्ण रूपमा अनलाइन र डिजिटल माध्यममा आधारित बनाइनेछ। यसका लागि श्रव्य-दृश्य सामग्री निर्माण गरिनेछ।
सामाजिक सुरक्षा र ज्याला: सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन अभियान चलाइने र न्यूनतम ज्यालाको पूर्ण कार्यान्वयन गरिनेछ।
ठगी नियन्त्रण र सुरक्षा: वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न प्रभावकारी कदम चाल्ने र विदेशमा रहेका नेपालीको कार्यस्थल सुरक्षा तथा न्यूनतम मापदण्ड तयार गर्ने।
रोजगारी र सीप: सातै प्रदेशमा निजी क्षेत्रसँगको सहकार्यमा ‘सीप मेला’ सञ्चालन गरी आन्तरिक रोजगारी प्रवर्द्धन गर्ने। थप पाँच मुलुकसँग द्विपक्षीय श्रम सम्झौता (BLA) विस्तार गर्ने प्रक्रिया अघि बढाउने ।
मन्त्रीको निर्देशन
मन्त्री साहले मन्त्रिपरिषद्बाट स्वीकृत ुशासकीय सुधार सम्बन्धी १०० कार्यसूचीु मा रहेका श्रम क्षेत्रका बुँदाहरूलाई तत्काल कार्ययोजना बनाएर कार्यान्वयन गर्न मातहतका कर्मचारीलाई निर्देशन दिइका छन् । श्रमाधान कल सेन्टरलाई थप व्यवस्थित बनाउँदै सेवाग्राहीको गुनासो छिटो सम्बोधन गर्ने संयन्त्र बनाउन समेत उनले जोड दिएका छन् ।