नेपाल र साउदीबीच सामान्य र सीपयुक्त श्रमिक लैजाने दुई वटा सम्झौतामा सहमती जुट्यो

जेनेभा । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र साउदी अरबको अन्तर्राष्ट्रिय मामिलाका उपमन्त्री तारिक अल हमदबीच नेपाली श्रमिक लैजाने महत्वपूर्ण बिषयमा सहमती भएका छन् ।

सोमबार जेनेभामा भएको साइडलाइन द्धिपक्षीय भेटवार्ता र छलफलका क्रममा नेपाल र साउदी अरेबियाबीच श्रमिक लैजाने सम्बन्धमा महत्वपूर्ण सहमती भएको हो ।  मन्त्री भण्डारीले घरेलु श्रमिकको सम्झौतालाई थाती राखेर सामान्य र सीपयुक्त श्रमिकको सीप प्रमाणीकरण कार्यक्रमसम्बन्धी गरी तत्काल दुईवटा सम्झौता गर्न साउदी अरब तयार बताए । नेपालले साउदीसँगको सामान्य श्रमिकसम्बन्धी सम्झौताको मस्यौदामा सहमति जनाइसकेको छ ।

‘साउदीसँग सामान्य श्रमिक लैजाने श्रम सम्झौतामा यसअघि नै सहमति भइसकेको छ । यसमा हस्ताक्षर हुन मात्रै बाँकी छ,’ उनले भने, ‘साउदीले घरेलु श्रमिकसम्बन्धी सम्झौता भएपछि मात्रै सामान्य सम्झौतामा हस्ताक्षर हुन सक्ने अडान लिएको थियो । अहिलेको बैठकले सहमति भइसकेको सम्झौता अगाडि बढाउने र घरेलु श्रमिकसम्बन्धी सम्झौताको मस्यौदामा थप गृहकार्य गर्ने टुंगो लगाएको छ ।’

श्रममन्त्री भण्डारीले दुई देशबीच श्रम सम्झौता भइसकेपछि मात्रै घरेलु श्रमिकको सम्झौता गर्नुपर्ने नेपालको संसदीय समितिको निर्देशन रहेको जानकारी साउदी पक्षलाई गराउँदै यसका लागि पाइलट परियोजना आवश्यक पर्ने जानकारीसमेत दिइएको थियो ।

उनले जेनेभा बैठकले साउदी अरेयिबासँग सामान्य श्रम सम्झौता र सीप प्रमाणीकरण कार्यक्रममा हस्ताक्षर गर्ने बाटो खोलि दिएको बताए । उनका अनुसार साउदीले पठाएको सामान्य सम्झौताको मस्यौदामा नेपालले सहमति जनाएर औपचारिक रूपमा परराष्ट्र मन्त्रालयमार्फत साउदी सरकारलाई पठाइसकेको छ । त्यस मस्यौदामा अन्तर्राष्ट्रिय श्रम संगठनको मापदण्डअनुसार श्रमिकको अधिकार, व्यवसायजन्य स्वास्थ्य सुरक्षा, रोजगारदाता परिवर्तन, श्रमिकको न्यायोचित भर्ना गर्ने विषयहरू समावेश गरिएका छन ।

साउदीसँग नेपालले उठाएका प्रमुख विषयहरू

१. घरेलु श्रमिकलाई भर्नासम्बन्धी सम्झौता गर्न नेपाल अझै मापदण्ड तय गर्ने चरणमा छ । कूटनीतिक नियोगको क्षमता सुदृढ गर्दै घरेलु श्रमिकको न्यायमा पहुँच र समयमै हस्तक्षेप गर्न सक्ने संयन्त्रको विकासलाई प्राथमिकता दिइएको छ ।

२. श्रमिकको शून्य-लागतमा भर्ना गर्ने नीतिमा जोड दिइएको छ । श्रम मर्यादित बनाउन मापदण्डको पालना सुनिश्चित गर्न आपूर्ति र म्यानपावर कम्पनीहरूको कडा नियमन र निरीक्षण आवश्यक छ ।

३. सुरक्षित, मानवीय र सम्मानजनक काम र गुणस्तरीय वासस्थान हुनु पर्नेमा जोड दिइएको छ। न्यूनतम ज्याला, सुरक्षा, व्यवसायजन्य स्वास्थ्य, जीवन बीमा, स्वास्थ्य उपचारमा सहज पहुँच र सुरक्षा मापदण्ड स्पष्ट हुनुपर्छ ।

४. साउदी अरबको श्रम बजारको क्षेत्रीय आवश्यकताअनुसार नेपालमा व्यमवसायिक र प्राविधिक प्रशिक्षण अनुकूल गराउन सहकार्य गर्न नेपाल तयार छ ।

५. विदेशमा प्राप्त सीपहरूलाई पहिचान गरी रोजगारी, उद्यमशीलता र सामाजिक सेवा माध्यमबाट फर्केकाहरूलाई सहयोग गर्ने पुनःएकीकरण कार्यक्रम कार्यान्वयनको चरणमा पुगेको छ ।

६. फिफा विश्वकप २०३० सफल बनाउन नेपाल सहकार्य गर्न इच्छुक छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै