बजेटको अर्धवार्षिक समीक्षा: खर्चको लक्ष्य घटाएर १६ खर्ब ८८ अर्बमा सीमित, पुँजीगत खर्चमा धक्का

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट खर्चको लक्ष्यमा संशोधन गर्दै आकार घटाएको छ । अर्थमन्त्री रामेश्वर खनालले मंगलबार बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै कुल विनियोजित बजेटको ८५।९६ प्रतिशत मात्र खर्च हुने नयाँ अनुमान प्रस्तुत गरेका हुन् ।

सरकारले सुरुमा १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको थियो। तर, पछिल्लो संशोधित अनुमान अनुसार आर्थिक वर्षको अन्त्यसम्म १६ खर्ब ८८ अर्ब ३२ करोड रुपैयाँ मात्र खर्च हुने देखिएको छ ।

बजेट विनियोजन र संशोधित अनुमानको तुलना:

शीर्षक सुरु विनियोजन (अर्बमा) संशोधित खर्च अनुमान (अर्बमा) लक्ष्यको प्रतिशत
चालु खर्च ११ खर्ब ८० अर्ब ११ खर्ब २५ अर्ब ९७ करोड ९५.४२%
पुँजीगत खर्च ४ खर्ब ७ अर्ब २ खर्ब ४३ अर्ब ३० करोड ५९.७७%
वित्तीय व्यवस्था ३ खर्ब ७५ अर्ब ३ खर्ब १९ अर्ब ४ करोड ८५.०७%
कुल बजेट १९ खर्ब ६४ अर्ब ११ करोड १६ खर्ब ८८ अर्ब ३२ करोड ८५.९६%

 

पुस मसान्तसम्मको प्रगति र आर्थिक वृद्धि:

पुस मसान्तसम्मको तथ्याङ्क अनुसार पुँजीगत (विकास) खर्च निकै कमजोर देखिएको छ । यो अवधिमा पुँजीगत खर्च लक्ष्यको जम्मा १२.१२ प्रतिशत मात्र भएको छ । यस्तै, चालु खर्च ४१.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४०.९५ प्रतिशत खर्च भएको छ ।

यद्यपि, खर्चको लक्ष्य घटाए पनि अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने लक्ष्यलाई भने यथावत राखेको छ ।

चाहेर पनि पूँजीगत खर्च बढाउनेतर्फ ध्यान दिन पाइनँः अर्थमन्त्री

अर्थमन्त्री खनालले चाहेर पनि यसबीचमा पूँजीगत खर्च बढाउनेतर्फ ध्यान दिन नपाएको बताए । चालु बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा मंगलबार खनालले यसबीचमा सरकारको प्राथमिकता निर्वाचन भएका कारण आफू र अन्य विकासे मन्त्रालयका मन्त्रीहरूको ध्यान र प्राथमिकता पनि त्यसतर्फ बढी भएको बताए । सोहीकारण पूँजीगत खर्च वृद्धिमा ध्यान दिन नसकिएको उनको जिकिर छ ।

निर्वाचन वातावरण बनाउन अधिकतम संवाद गर्नुपर्ने र त्यसमा केन्द्रित हुुनुपर्ने भएपछि विकास र निर्माणका काममा ध्यान दिन नसकिएको अर्थमन्त्री खनालले स्वीकारे । चालु आव २०८२र८३ मा पूँजीगत बजेट खर्च न्यून छ । अर्थमन्त्री खनालका अनुसार संघीय सञ्चित कोषसमेत अहिले १ खर्ब ३० अर्ब रुपैयाँ बराबर घाटामा छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै