काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा ६१ अर्ब ५ करोड रूपैयाँ वैदेशिक ऋण तथा अनुदान परिचालन गरेको देखिएको छ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको पुस मसान्तसम्मको एक प्रतिवेदनले यस्तो देखाएको हो । त्यसमा ३६ अर्ब ८९ करोड २२ लाख रूपैयाँ ऋण प्राप्ति रहेको छ । तथ्यांक अनुसार साउनमा एक अर्ब ७६ करोड रूपैयाँ, भदौमा चार अर्ब ८४ करोड रूपैयाँ र असोजमा तीन अर्ब ४० करोड रूपैयाँ अनुदान तथा ऋण प्राप्ति भएको छ ।
यस्तै, कात्तिकमा दुई अर्ब १४ करोड रूपैयाँ, मंसिरमा नौ अर्ब ८५ करोड रूपैयाँ र पुसमा १९ अर्ब ७१ करोड रूपैयाँ अनुदान तथा ऋण प्राप्ति भएको छ । पुसमा यस्तो प्राप्ति उच्च देखिन्छ ।
नेपालको वैदेशिक ऋण मात्रै १५ खर्ब
पुस मसान्तसम्म आउँदा नेपालको वैदेशिक ऋणको आकार १४ खर्ब ८७ अर्ब २६ करोड रूपैयाँ पुगेको छ । गत असारसम्म यस्तो ऋणको आकार १४ खर्ब ५ अर्ब ८२ करोड रूपैयाँ थियो । त्यसमा पुससम्मको प्राप्ति ३६ अर्ब ८९ करोड २२ लाख रूपैयाँ छ ।
पुससम्म सरकारले २६ अर्ब १३ करोड ३९ लाख रूपैयाँ ऋण तिरेको छ । त्यसमा विदेशी विनिमय दरमा आएको परिवर्तनले ७० अर्ब ६८ करोड तीन लाख रूपैयाँ दायित्व थपिएको छ । त्यसरी सरकारले तिर्न बाँकी कुल विदेशी ऋण १४ खर्ब ८७ अर्ब २६ करोड रूपैयाँ छ ।
आन्तरिक ऋण १३ खर्ब १९ अर्ब १३ करोड रूपैयाँ गरेर सरकारले तिर्न कुल ऋण भने २८ खर्ब ६ अर्ब ३९ करोड रूपैयाँ छ ।