कालीकोट । जिल्लाका नाै स्थानीय तह मध्ये रास्कोट नगरपालिकाले सबैभन्दा बढी आन्तरिक आम्दानी गर्दै आएको छ । कालीकोटको प्रदेशसभा क्षेत्र ‘ख’ मा पर्ने प्रशासनिक र व्यापारिक केन्द्र रास्कोटको आरसिपी बजारमा नगरको स्मामित्वमा रहेका ३९ वटा पक्की सटरबाट मासिक १ लाख बढी आम्दानी हुने गरेको छ ।
बजारमा लहरै खुलेका सटरले स्थानीयलाई व्यवसाय गर्ने सुविधासँगै नगरको आन्तरिक आय वृद्धिमा पनि सहयोग पुर्याएको छ । रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीले नगरपालिकाले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको बताए ।
नगरप्रमुख शाहीले पालिकाबाट रास्कोट अस्पतालमा ३ जना एमबीबीएस डाक्टर राखेर सेवा दिइरहेको बताए । उनले सामुदायिक विद्यालयमा कक्षा १ देखि अंग्रेजी माध्यममा पढाउन विद्यालयलाई थप सुविधा दिएर काम गरेको दाबी गरे । रास्कोट नगरपालिकाले गत वर्ष १ करोड २८ लाख आन्तरिक राजश्व वापतको रकम संकलन गर्न सफल भएको छ । कालीकोटका अन्य ८ वटा स्थानीय तहको वार्षिक आन्तरिक आम्दानी १५ देखि ४५ लाखसम्म छ ।
रास्कोट नगरपालिका कार्यालयका अनुसार गतवर्ष १४ लाख ७२ हजार २०७ रुपैयाँ घरबहालकर संकलन गरेको थियो । भूमिकर वापत १५ लाख ४४ हजार ६७३, अन्य कर वापत २१ लाख ७३ हजार ६००, व्यवसाय कर १ लाख ३९ हजार ८००, अन्य राजश्व ३ लाख ५० हजार ४७०, व्यवसाय रजिष्टेसन वापत ३० हजार ६०१, अन्य दस्तुर वापत ९ लाख ५ हजार ७६० रुपैयाँ संकलन गरेको छ ।
त्यस्तै, व्यक्तिगत घटना दर्ताबाट २ लाख ६ हजार ५५०, नाता प्रमाणित वापत ९ हजार, सिफारिस दस्तुर वापत १४ हजार ९४२, अन्य प्रशासनिक सेवा शुल्क वापत २ लाख ४१ हजार ७००, परीक्षा शुल्क वापत ७ हजार ३००, शिक्षा क्षेत्रको आम्दानी वापत ६ हजार ९०० राजश्व उठाएको छ ।
त्यसैगरी, अन्य सेवा शुल्क तथा बिक्री शीर्षकमा ५० लाख ४६ हजार ६५०, कृषि उत्पादनको विक्रिबाट प्राप्त राजश्व ४३ हजार ३१०, कृषि तथा पशुजन्य वस्तुको कारोवारमा लाग्ने करवापत २७ हजार ७४२, सम्पत्ति कर ५३ हजार ८१७ लगायतका शीर्षकमा राजश्व उठाउन सफल भएको नगरपालिकाले जनाएको छ ।
आन्तरिक आयका स्रोत न्यून भएको जिल्ला भएकाले पालिकाहरुको आम्दानी पनि कम भएको कोष तथा लेखा नियन्त्रण प्रमुख टंक थापाले बताए । ‘रास्कोटले सटर भाडामा लगाएर राम्रै आम्दानी गरेको देखिन्छ । सदरमुकामको खाडाचक्र नगरपालिकाले पनि बजार क्षेत्र र बहाल कर वापत आम्दानी गर्नुपर्नेमा राजश्व उठेको देखिँदैन,’ उनले भने । उनका अनुसार रास्कोटपछि बढी आन्तरिक आम्दानी गर्ने सदरमुकामको खाडाचक्र नगरपालिकाले वार्षिक ४४ लाख ३३ हजार १९ रुपैयाँ मात्र राजश्व संकलन गरेको छ ।
त्यस्तै, नरहरिनाथ गााँपालिकाले ३५ लाख १० हजार ३३२, बहुमूल्य काइनेट भएको शुभकालिका गाउँपालिकाले २७ लाख १८०, सान्नीत्रिवेणी गाउँपालिकाले ११ लाख १८ हजार ६४६, महाबै गाउँपालिकाले १४ लाख ४१ हजार ८७७, तिलागुफा नगरपालिकाले १० लाख ७६ हजार ७३२, पचालझरना गाउँपालिकाले ८ लाख ४९ हजार १५८ गैहृकर राजश्व संकलन गरेको छ । पलाता गाउँपालिकाको वर्षभरीको आन्तरिक आम्दानी ६ लाख १५ हजार ९०३ रुपैयाँ मात्र छ ।
रास्कोटमा ग्लोबल आईएमई र राष्ट्रिय वाणिज्य बैंकका शाखामा सबै नागरिकको बैक खाता अनिवार्य गर्दै अशत्त, अपांग तथा जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता घरमै गएर वितरण गर्ने अभ्यास गरेको नगर उपप्रमुख मनिराज बरालले बताए । पालिकाले नागरिकतासहितका सेवाका लागि इलाका प्रशासन स्थापनाको लागि पनि पहल गरिरहेको उनले बताए छ ।