समावेशी समृद्धिको बाटोमा गोदावरी नगर: शिक्षा, स्वास्थ्य, वातावरण र विपद् व्यवस्थापनलाई शीर्ष प्राथमिकता

ललितपुर । गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२-८३ को लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गत मंगलबारको नगरसभामा पालिका प्रमुख गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारीले संयुक्त रूपमा प्रस्तुत गरेको यो कार्ययोजनाले शिक्षा, स्वास्थ्य, प्रविधि, वातावरण संरक्षण, कृषि विकास र समावेशी सहभागितामूलक सुशासनलाई शीर्ष प्राथमिकतामा राखेको छ।

नगर प्रमुख, उपप्रमुख तथा जनप्रतिनिधिहरूको सहभागितामा तयार पारिएको यस कार्ययोजनाले स्थानीय आवश्यकता, जलवायु संकट, सामाजिक समावेशिता र दिगो विकास लक्ष्यलाई विशेष जोड दिएको देखिन्छ।

शिक्षा क्षेत्रमा बालमैत्री र प्रविधिमैत्री पहल

शिक्षाको क्षेत्रमा गोदावरी नगरले बालमैत्री, समावेशी र प्रविधिमैत्री शिक्षाको विकास गर्ने स्पष्ट योजना अघि सारेको छ। यसमा सबै बालबालिकाका लागि पूर्वतयारी कार्यक्रम, अपांगता भएका बालबालिकाको लागि पहुँचयुक्त शिक्षा, कक्षा ८ सम्मको निःशुल्क शिक्षामा जोड, शिक्षक क्षमता अभिवृद्धि, विद्यालय स्तरोन्नति, प्रविधि प्रयोग तथा स्थानीय स्रोतको उपयोग जस्ता पक्षहरूमा नीति तथा कार्यक्रमले जोड दिएको छ।

स्वास्थ्य सेवामा टोलस्तरीय पहुँच र डिजिटल प्रणाली

स्वास्थ्य क्षेत्रमा नगरले मातृ तथा नवजात शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य, टोलमै आधारित सघन स्वास्थ्य सेवा, डिजिटल रेकर्ड प्रणाली (e-HMIS) तथा स्थानीय स्वास्थ्य संस्था सुदृढीकरणको कार्यक्रम ल्याएको छ। उपप्रमुख अधिकारीले “स्थानीय जनस्वास्थ्य प्रणाली बलियो बनाउने हाम्रो उद्देश्य हो। सबै वर्गको पहुँचलाई सुनिश्चित गर्न हामी प्रतिबद्ध छौँ,” भन्दै नगरको स्वास्थ्यसम्बन्धी प्रतिबद्धता व्यक्त गरे।

‘हरित गोदावरी’ अभियान र विपद् व्यवस्थापनमा नवीन प्रविधि

वातावरण संरक्षणका लागि नगरले जैविक विविधता संरक्षण, वन पैदावारको उपयोग, पानीको स्रोतको संरक्षण, रेनवाटर हार्भेस्टिङ प्रणाली स्थापना, प्लास्टिक न्यूनीकरण, तथा नगरलाई हरित नगरमा रूपान्तरण गर्न ‘हरित गोदावरी’ अभियानको घोषणा गरेको छ। फोहोर व्यवस्थापनमा सामुदायिक तथा निजी सहकार्यमार्फत आधुनिक प्रविधिको प्रयोग गरिने भएको छ।

विशेषगरी, भू-क्षय प्रवण क्षेत्रहरूमा ‘भेटिभर बायोइन्जिनियरिङ्ग’ प्रविधिबाट पहिरो नियन्त्रण गरिने कुरा नीति तथा कार्यक्रममा उल्लेख छ। यो प्रविधिमा विशेष प्रकारको सघन तथा गहिरो जरा प्रणाली भएको घाँस प्रयोग गरिन्छ जसको जराले माटोको पकड बलियो बनाउँछ। नगर प्रमुख महर्जनले “हामी वैज्ञानिक प्रविधिको प्रयोगमार्फत पूर्वतयारी र प्रभाव न्यूनीकरणको संयोजन गर्दैछौँ। प्राकृतिक प्रकोप न्यूनीकरण गर्दै नगर सुरक्षित बनाउन भेटिभर प्रविधिको प्रयोगले ठूलो योगदान पुर्‍याउनेछ,” भने।

डिजिटल सुशासन र कृषि विकासमा जोड

नगरमा डिजिटल सेवा प्रणाली बलियो पार्दै भवन स्वीकृति, कर प्रणाली, सामाजिक सुरक्षा र सेवा प्रवाहमा एकीकृत अनलाइन प्रणाली लागू गरिने भएको छ। साथै, विद्युत् लेखाजोखा, नागरिक विवरण अद्यावधिक, र गुनासो सुन्ने व्यवस्था समेत डिजिटल बनाइनेछ।

कृषिमा बाली चक्र परिवर्तन, उन्नत बीउ वितरण, कृषि ऋण, कृषक परिचयपत्र, स्थानीय उत्पादनको बजारीकरण, सहकारीसँग साझेदारी जस्ता कार्यक्रमहरू सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। पालिकाले जैविक कृषि, ग्रीनहाउस प्रविधि, टनेल खेती, कृषि तालिम तथा महिला कृषकलाई विशेष प्राथमिकता दिएको छ।

महिला स्वावलम्बन र अपाङ्गतामैत्री पूर्वाधार

महिला स्वावलम्बनका लागि शिक्षा, स्वास्थ्य, सीप तालिम, उद्यमशीलता कार्यक्रम सञ्चालन हुने तथा विशेषतः घरेलु हिंसा पीडित, एकल महिला, अपांगता भएका महिला, सुत्केरी मातालाई लक्षित कार्यक्रम तयारी गरिएको छ। अपांगता भएका व्यक्तिका लागि पहुँचयुक्त पूर्वाधार निर्माण, सामाजिक सुरक्षा पहुँच, र सीप विकासमा कार्यक्रम कार्यान्वयन गरिने भएको छ।

नगर प्रमुख महर्जनले नीति कार्यक्रम सार्वजनिक गर्दै भने, “हाम्रो लक्ष्य केवल पूर्वाधार निर्माण होइन, सामाजिक रूपान्तरण हो। समावेशी विकास र नवप्रवर्तनको संयोजनबाट हामी गोदावरीलाई हरित, प्रविधिमैत्री र समृद्ध नगर बनाउनेछौँ।” उपप्रमुख अधिकारीले यस योजनाको प्रभावकारी कार्यान्वयनले गोदावरीलाई मात्र नभई देशभरका स्थानीय तहलाई उदाहरणीय बनाउने विश्वास व्यक्त गरिन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै