
गुल्मी । गुल्मी जिल्लाका दुई गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट सार्वजनिक गरेका छन्। छत्रकोट गाउँपालिकाले करिब ५९ करोडको बजेट ल्याएको छ भने गुल्मीदरबार गाउँपालिकाले ५६ करोडभन्दा बढीको बजेट प्रस्तुत गरेको छ।
छत्रकोट गाउँपालिकाको बजेट
छत्रकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५८ करोड ८१ लाख ९४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको २०औँ गाउँसभामा उपाध्यक्ष सावित्रा ज्ञवालीले यो बजेट प्रस्तुत गरेकी हुन्।
पुँजीगत खर्च: २० करोड ३ लाख २२ हजार रुपैयाँ
चालु खर्च: ३८ करोड ७८ लाख ९० हजार रुपैयाँ
गाउँपालिकाले पूर्वाधार विकास, कृषि सुधार, गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकतामा राखेको उपाध्यक्ष ज्ञवालीले बताइन्। बजेटमा ग्रामीण भेगमा सडक विस्तार, खानेपानी, सिँचाइ लगायतका भौतिक पूर्वाधारमा लगानी बढाउने उल्लेख छ।
त्यस्तै, कृषिमा प्रविधिमैत्री कार्यक्रम, बीउबिजनको व्यवस्था तथा उत्पादन र बजारीकरणमा जोड दिइनेछ। शिक्षा क्षेत्रमा विद्यार्थीको सिकाइमा सुधार ल्याउने कार्यक्रमसहित विद्यालय पूर्वाधार सुदृढीकरण र डिजिटल शिक्षालाई प्रवर्द्धन गरिनेछ।
स्वास्थ्य क्षेत्रमा आधारभूत सेवाको पहुँचलाई थप सुदृढ बनाउने योजना प्रस्तुत गरिएको छ। गाउँपालिकाले जनमुखी कार्यक्रममार्फत समावेशी विकास र प्रभावकारी सेवा प्रवाहमा जोड दिने उपाध्यक्ष ज्ञवालीले बताइन्।
गुल्मीदरबार गाउँपालिकाको बजेट
गुल्मीदरबार गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५६ करोड ३८ लाख ४० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १७औँ गाउँसभामा उपाध्यक्ष तारा थापा ढेँगाले नीति तथा कार्यक्रमसहित नागरिकको अपेक्षाअनुसारको बजेट प्रस्तुत गरेको जानकारी दिइन्।
पुँजीगत खर्च: २१ करोड ५७ लाख ८७ हजार रुपैयाँ
चालु खर्च: ३४ करोड ८० लाख ५३ हजार रुपैयाँ
पालिकाले पूर्वाधार विकास, कृषि सुधार, शिक्षा र स्वास्थ्य सेवा विस्तारमा विशेष जोड दिएको छ। यस बजेटमा व्यवसायिक रूपमा गोरु तथा राँगो पालक कृषकलाई प्रोत्साहन गर्नका लागि विशेष बजेट विनियोजन गरिएको छ।
दिगो विकास लक्ष्यको कार्यान्वयन तथा दीर्घकालीन आर्थिक र सामाजिक विकास सुनिश्चित गर्नका लागि वार्षिक नीति, कार्यक्रम र बजेट तर्जुमा गर्नु वर्तमान सङ्घीय संरचनामा महत्त्वपूर्ण रहेको उल्लेख गरिएको छ।